काठमाडौं । साझा पार्टीले कोभिड १९ को संकटमाझ देशभरका विपन्न तथा न्यून आयका नागरिकहरूको जीवनयापन अत्यन्त कष्टकर बनेको भन्दै सरकारलाई उनीहरुको जीवन रक्षा गर्न माग गरेको छ । पार्टीका सहप्रवक्ता शरदराज पाठकले शुक्रबार विज्ञप्ति जारी गरी निम्नमध्यम वर्गीय नागरिकहरूसम्म चुल्हो बाल्नै नसक्ने पीडादायी अवस्थाबाट गुज्रिएका भन्दै सरकारलाई उनीहरुको रोजीरोटीको व्यवस्था गर्न माग गरेका हुन् ।
यस्तो छ साझा पार्टीको विज्ञप्ति
कोभिड १९ को बहुआयामिक संकटमाझ देशभरका विपन्न तथा न्यून आयका नागरिकहरूको जीवनयापन अत्यन्त कष्टकर बनेको छ।
साँझ-विहान खान पनि नपाउने गरेर चरम कठिनाईमा परेका हजारौँलाई राजधानीसहित देशका विभिन्न भागमा मनकारी व्यक्ति तथा संस्थाहरूले खाना खुवाईरहेका दारूणिक दृश्य सार्वजनिक भईरहेका छन्।
दैनिक ज्यालादारी गरेर साँझ विहान छाक टार्नेहरूदेखि नियमित आयको स्रोत बन्द भएका निम्नमध्यम वर्गीय नागरिकहरूसम्म चुल्हो बाल्नै नसक्ने पीडादायी अवस्थाबाट गुज्रिएको लामो समय भइसक्यो।
परिणामास्वरूप, कयौँ नागरिक खान नपाएर मर्दैछन्, विरामीहरू अस्पताल नपाएर मर्दैछन्। कोरोना संक्रमणले दिनप्रतिदिन भयावह रूप लिँदैछ। यस्तो अवस्थामा पनि सरकार कमिसन, ठेक्कापट्टा, शक्ति संघर्ष, राजनीतिक षडयन्त्र र चुनाव हारेकालाई राष्ट्रिय सभामा लैजाने प्रपञ्चमा व्यस्त छ।
विपद्को घडीमा समेत जनतालाई राहत प्रदान गर्न मूलत: व्यक्ति र संस्थाहरू नै चाहिने हो भने स्थानीय सरकार केका लागि हो? “अब कोही भोकै बस्नु पर्दैन, गरिबीका कारण कोही भोकै मर्दैन” भन्ने प्रधानमन्त्री कसका लागि हुन्? स्थानीय सरकार र अन्य सरकारी संयन्त्रलाई राहतका लागि निर्देशनमात्र दिएर पुग्दैन। खै उनीहरूले राहत पाएका? पाएका भए देशभरी कारूणीक दृष्यहरू किन देखिइरहेका छन्?
साझा पार्टी सम्भव भएका सबै सरकारी संयन्त्र परिचालन गरेर देशभरी देखिइरहेका दारूणीक अवस्थालाई तुरून्त सम्वोधन गर्न सरकारसँग जोडदार आह्वान गर्दछ। साथै, यो कष्टकर घडीमा अनेक समस्या सहेर भोक र रोग पीडितहरूको सहयोगार्थ काम गरिरहेका सम्पूर्ण मनकारी व्यक्ति तथा संस्थाहरूप्रति हार्दिक आभार व्यक्त गर्दछ।
ती व्यक्ति र संस्थाहरूलाई हर प्रकारका सम्भाव्य सहयोग गर्न हामी पार्टीका सदस्य, शुभेच्छुक लगायत सबैलाई हार्दिक अपील गर्दछौँ।
शरदराज पाठक
सहप्रवक्ता, साझा पार्टी
Leave a Reply