जर्मनीले रुसी विपक्षी नेता एलेक्सी नभाल्नीलाई नोभिचोक भनिने स्नायुमा असर गर्ने एउटा विष दिइएको भन्ने ’स्पष्ट प्रमाण’ रहेको जनाएको छ । जर्मन चान्सलर एङ्गेला मर्केलले नभाल्नीको हत्या प्रयास भएको त्यस्तो पदार्थ नभाल्नीको सम्पर्कमा कसरी आयो भन्ने जवाफ रुस सरकारले मात्र दिन सक्ने बताइन् ।
गत महिना साइबेरियामा उडानमा रहेको बेला अचानक बिरामी भएपछि नभाल्नीलाई उपचारका लागि बर्लिन ल्याइएको थियो । क्रेमलिनका एकजना प्रखर आलोचक नभाल्नीलाई सैन्य श्रेणीको विष दिइएको भन्ने जर्मन विज्ञहरूको भनाइ आएपछि त्यसको अन्तर्राष्ट्रिय रूपमा आलोचना भएको छ । जर्मन चान्सलर एङ्गेला मर्केलले विश्वले उक्त ’हत्या प्रयास’को जवाफ रुससँग खोज्ने बताएकी छन् ।
नोभिचोक नामको रसायनिक हतियारको रूपमा प्रयोग गरिने त्यस्तो पदार्थ तत्कालीन सोभियत सरकारले शीतयुद्धका बेला विकास गरेको थियो । ब्रिटिश प्रधानमन्त्री बोरिश जोनसनले यस घटनालाई ’निर्लज्ज’ भन्दै त्यो के भएको हो भन्ने जवाफ रुस सरकारले दिनुपर्ने बताएका छन् ।
ह्वाइटहाउसले घटनामा संलग्न रुसका जोकोहीलाई जिम्मेवार ठहर्याउन अमेरिका आफ्ना साझेदारहरूसँग मिलेर काम गर्ने जनाएको छ । युरोपेली सङ्घले समेत रुस सरकारसँग ’पारदर्शी अनुसन्धान’को माग गरेको छ । मर्केलले यस घटनालाई विपक्षी नेताहरूको मुख बन्द पार्ने प्रयास स्वरुप भएको बताइन् ।
जर्मनीले यसबारे उत्तर एटलान्टिक सन्धी सङ्घठन (नेटो) र ईयूलाई आफ्नो अनुसन्धानको नतिजाबारे जानकारी गराइसकेको जनाएको छ । बर्लिनले नभाल्नीकी श्रीमती र जर्मनीका लागि रुसी राजदूतलाई समेत आफ्ना निष्कर्षहरू जानकारी गराइने जनाएको छ । नभाल्नीका सहकर्मीहरूले उनलाई राष्ट्रपति पुटिनको आदेशमा विष दिइएको आरोप लगाउने गरेका छन् ।
सन् २०१८ नोभिचोकको प्रयोग ब्रिटेनमा एकजना पूर्वी रुसी जासुस सर्जेई स्क्रिपल र उनकी छोरीमा समेत प्रयोग गरिएको थियो । उनीहरू त्यसबाट बच्न सफल भए पनि एकजना ब्रिटिश महिलाको पछि अस्पतालमा मृत्यु भएको थियो । ब्रिटेनले रुसको सैन्य गुप्तचरलाई त्यस हमलाको आरोप लगाएको थियो । अन्य रसायनियक हतियारको तुलनामा निकै कडा हुने नोभिचोकका केही स्वरुपले ३० सेकेन्डदेखि २ मिनेटभित्रै असर देखाउँछन् ।
Leave a Reply