जापानका प्रधानमन्त्री शिन्जो आबेले स्वास्थ्यका कारण राजीनामा दिएका छन् । आफ्नो अस्वस्थताका कारण निर्णय प्रक्रियामा प्रभाव नपरोस् भन्ने लागेको बताउँदै उनले पदावधि पूरा गर्न नपाएकोमा जापानी जनतासँग क्षमायाचना गरेका छन् ।
यसअघि उनको दलले आबे पदत्याग गर्ने मनस्थितिमा भएको पुष्टि गरेको थियो । उनी आन्द्राको समस्याबाट लामो समयदेखि पीडित छन्। अहिले उनको अवस्था झन् बिग्रिएको अनुमान गरिएको छ । सरकारी प्रसारक एनएचकेका अनुसार ६५ वर्षीय आबेले आफ्नो कारणले सरकार सञ्चालनमा समस्या नहोस् भन्ने चाहेका थिए ।
सन् २०१२ देखि निरन्तर देशको कार्यकारी नेता रहेका आबे जापानी इतिहासमा सबैभन्दा लामो समय काम गर्ने प्रधानमन्त्री हुन्। उनको पदावधि २०२१ सम्म थियो । सन् २००७ मा पनि उनले स्वास्थ्यकै कारण प्रधानमन्त्रीको पद छोडेका थिए । उनलाई किशोरावस्थादेखि आन्द्रा सुन्निने रोग छ । एकै साता दुई चोटि अस्पताल गएपछि आबेको स्वास्थ्यस्थिति बिग्रिन थालेको हो कि भनेर प्रश्न उठ्यो ।
उनले आफू किन अस्पताल गएको हो भनेर बताएका छैनन्। तर एक चोटि आठ घण्टा अस्पतालमा बसेको विवरण प्राप्त भएको छ । सअघि सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टीका पदाधिकारीहरूले आबेले पदत्याग गर्ने अनुमानको खण्डन गर्दै प्रधानमन्त्रीको स्वास्थ्य ठिक भएको दाबी गरेका थिए ।
मङ्गलवार उनका एक सहयोगीले समाचारसंस्था रोएटर्सलाई आबेले आफ्नो पदावधि पूरा गर्ने आफूलाई लागेको बताएका थिए । संसद् भङ्ग हुने र मध्यावधि निर्वाचन गराइने अनुमानको खण्डन गर्दै आकिरा आमारीले प्रधानमन्त्रीले त्यसो नगर्ने दाबी गरेका थिए। कोरोनाभाइरस महामारी नियन्त्रण गर्न चालिएको कदमप्रति असन्तुष्टि भएकाले सरकारको लोकप्रियता केही घटेको बताइन्छ।
Leave a Reply