साउन २९, नया दिल्ली । रसियामा हालै राष्ट्रपति भ्लाडिमिर पुटिनले आफ्नो देश कोविद १९ विरुद्धको भ्याक्सिन बनाउन सफल भएको घोषणा गर्दै अव छिट्टै त्यसको प्रयोग गर्ने पत्रकार सम्मेलन मार्फत गराउनु भएपछि नेपाल लगायत संसारभरी चासो र चिन्ता उत्पन्न भएको छ ।
अमेरिकाको स्वास्थ्य विभाग तथा अन्य वैज्ञानिकहरुले क्लिनिकल ट्रायल नगरीकन उक्त रसियन भ्याक्सिनको प्रयोग घातक हुनसक्ने र थप समस्याहरु आउनसक्ने चिन्ता गरिरहेकै बेला फिलिपिन्सले आफ्नो देशमा क्लिनिकल ट्रायल गर्ने कुरा जनाएको छ ।
रसियाली सरकारको स्वामित्वमा रहेको डाइरेक्ट इन्भेस्टमेन्ट फण्डले जारी गरेको सूचनामा तेश्रो चरणको मानव ट्रायल साउदी अरेविया, संयुक्त अरव इमिरेट्स, ब्राजिल, भारत र फिलिपिन्समा गरिने जनाएको छ । साथै, रसियाले ब्राजिल, भारत, दक्षिण कोरिया, साउदी अरेविया, क्यूवा र टर्कीका स्वतन्त्र औषधि निर्माता कम्पनीहरुसंग मिलेर उक्त भ्याक्सिनको व्यापक रुपमा उत्पादन गन लागिएको जनाएको छ ।
भारतमा पनि रसियाली भ्याक्सिनको तेश्रो चरणको क्लिनिकल ट्रायल गर्ने रसियाली दावीका बारेमा भने भारतको संघीय स्वास्थ्य मन्त्रालयले खण्डन गरेको छ । मन्त्रालयले त्यसबारे कुनै छलफल नभएको स्पष्ट पारेको छ । एक खबरका अनुसार भारतीय मेडिकल रिसर्च काउन्सिलका एक अधिकारीले भारतमा ट्रायल गर्ने बारेमा आफूलाई केही थाहा नभएको बताएका छन् भने कोविद १९ को विज्ञ समूहमा रहेका भारतीय नीति आयोगका सदस्य डा. भि.के. कौल भने प्रतिकृयाका लागि सम्पर्कमा नआएको बताइएको छ ।
एक्सप्रेस न्यूज सर्भिसका अनुसार रसियाले भारतको हैदरावादस्थित भारत वायोटेक कम्पनीलाई उक्त भ्याक्सिन उत्पादन गर्न अनुरोध गरेको दावी गरे पनि निर्माता कम्पनीले हालसम्म कुनै प्रतिकृया जनाएको छैन ।
खबरअनुसार उक्त रसियाली भ्याक्सिनको मानव जातीमा असर अध्ययन गरिनु पर्ने परीक्षण हालसम्म एक सयभन्दा कम मानिसमा मात्र भएकोले बृहत्तस्तरमा वैज्ञानिक परीक्षण गरिनु आवश्यक रहेको छ ।
आगामी अक्टोबर महिनादेखि मानिसहरुमा भ्याक्सिन खोप हान्न रसियाका राष्ट्रपति पुटिनव्दारा स्वीकृति दिइसकिएको छ । रसियाको ग्यामिलिया रिसर्च सेन्टर र रसियाली प्रतिरक्षा मन्त्रालयको संयुक्त प्रयासमा निर्माण गरिएको उक्त स्पुटनिक ५ नाम दिइएको भ्याक्सिनको अव केही दिनमा व्यावसायिक उत्पादन सुरु हुने बताइएको छ ।
कोविद १९ को भ्याक्सिन वा अन्य किसिमका औषधी आदिको खोज, अनुसन्धान, परीक्षण वा उत्पादनका बारेमा नेपालले पनि स्पष्ट नीति अख्तियार गर्नु आवश्यक ठानिएको छ ।
Leave a Reply