काठमाडौं । नेपाल कम्यनिस्ट पार्टी (नेकपा) ले पार्टी एकताका लागि बनाएको कार्यदल विघटन गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सचिवालय बैठकले कार्यदलको म्याद थप नगर्ने निर्णय गरेको हो । अब शीर्ष नेताहरु रहेको सचिवालयले सांगठनिक एकताको प्रस्ताव तयार पारेर स्थायी कमिटीमा पेश गर्ने बताइएको छ ।
विहीबारको सचिवालय बेठकमा संयोजक रामबहादुर थापा बादलले पेश गरेको कार्यदलको प्रतिवेदनमा एक साता समय माग गरिएको भएपनि आजको बैठकले सो म्याद थप्न
अस्विकार गरेको छ । विहिबार बैठकमा बोल्ने कार्यदलका बहुमत सदस्यहरुले पनि म्याद थप्नुपर्ने धारणा राखेको भएपनि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले चाहना अनुसार नै कार्यदल विघटन गरिएको बताइएको छ ।
बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘सचिवालयको बैठकले कार्यदललाई अहिलेसम्म गरेको कामका लागि धन्यवाद दिने निर्णय गर्यो । अब पार्टी एकताको प्रस्ताव सचिवालयले तयार गर्ने र स्थायी समितिमा पेश गर्ने निर्णय भएको छ ।’
पार्टी एकताको प्रारूप बनाउन गठित कार्यदलमा गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे, वर्षमान पुन, लेखराज भट्ट, योगेश भट्टराई, बेदुराम भुसाल, रघुवीर महासेठ रहेका थिए । पार्टीको स्थायी कमिटीको गत पुस १२ को बैठकले सो कार्यदल गठन गरेको थियो ।
जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको औपचारिक एकता हुँदा पार्टी एकीकरणको काम तीन महिनाभित्रै सक्ने घोषणा गरिएको थियो । तर पार्टी एकता घोषणा गरिएको ९ महिना बितिसक्दा समेत पार्टी एकताको कामले पूर्णता पाउन सकेको छैन ।
Leave a Reply