बेथितिभित्र रमाउन चाहनेहरु त्यसलाई स्वर्ग मानेर बसेका छन्ः स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अब औषधि र भेन्टिलेटर भएन भनेर विरोधीहरु सरकारविरुद्ध खनिने बताएका छन् । परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालको ६१ औं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा मन्त्री ढकालले सरकारले कोरोनाविरुद्ध सही रुपमा काम गरिरहेको भन्दै विरोधीहरुले अनावश्यक विषयवस्तु उचालेर भ्रम सिर्जना गर्न खोजेको आरोप लगाएका हुन् ।

उनले कोरोनालाई राजनीतिक प्रतिशोधको विषयबस्तु बनाएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले भने, ‘हिजो पीपीई भएन भनेर गीत गाइयो, पीपीई पर्याप्त भयो अनि पीसीआर भएन भनेर अर्को गीत बनाइयो, मलाई थाहा छ, अब औषधि खोइ, भेन्टिलेटर खोइ भनेर गीत बनाएर घन्काइन्छ ।’ सरकार सकारात्मक आलोचन ग्रहण गर्न तयार रहेको भन्दै मन्त्री ढकालले विरोध गर्नेहरुले समस्याको निकास भन्दा असहजता चाहिरहेको बताए ।

उनले आफू निष्ठाको राजनीति गर्ने भएको हुँदा भ्रष्टाचारबारे कल्पना पनि नगर्ने बताए । उनले भने, ‘जुन दिनसम्म राजनीति गर्छु । त्यो दिनसम्म म पैसा कमाउन लाग्दिन्, कमाउन लागेको दिन अब मैले राजनीति छाडें, कमाउन लागें भनेर सन्यास लिन्छु ।’

मन्त्री ढकालले कसैको केही नखाइदिएको भएर आफूविरुद्ध नियोजित षड्यन्त्र गरिएको बताए । स्वास्थ्यमा बेथिति गरेर हुर्किएकाहरु नेपालको स्वास्थ्य क्षेत्र माथि नउठोस् भन्ने कामना गरेर बसेको मन्त्री ढकालको आरोप थियो । उनले भने, ‘स्वास्थ्य क्षेत्र सुध्रिएला कि भन्ने उहाँहरुलाई चिन्ता छ, बेथितिभित्र रमाउन चाहनेहरु त्यसलाई स्वर्ग मानेर बसेका छन् ।’


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *