माइक्रोसफ्टका अनुसार राष्ट्रपति डोनल्ड ट्रम्प र आगामी चुनावका लागि उनका प्रतिस्पर्धी डेमोक्रेटिक उम्मेदवार जो बाइडन दुवैको चुनावी अभियान साइबर हमलाको निसानामा परेका छन् ।
माइक्रोसफ्टले रुस, चीन र इरानका लागि काम गर्ने ह्याकरहरूले अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपतीय चुनाव अभियानमा संलग्न रहेका व्यक्ति र समूहहरूको सूचना अनधिकृत रूपमा लिने प्रयास भएको बताएको छ ।
उक्त प्रविधि कम्पनीले सन् २०१६ को राष्ट्रपतीय चुनावमा डेमोक्रेटिकको चुनावी अभियानको तथ्याङ्क अनधिकृत रूपमा चोर्नेमा रुसी ह्याकरहरू पनि रहेको जनाएको छ । होमल्याण्ड सेक्युरिटी मन्त्रालयका साइबरसम्बन्धी उच्च अधिकारी क्रिस्टोफर क्रेब्सले यसअघि गुप्तचर समुदायले भन्दै आएको कुराकै पुष्टि माइक्रोसफ्टले गरेको बताएका छन् ।
चुनावलाई लक्षित गर्दै विदेशी समूहरूले आफ्ना प्रयासहरू बढाएको स्पष्ट भएको माइक्रोसफ्टले जनाएको छ । राष्ट्रपति डोनल्ड ट्रम्प र उनका प्रतिस्पर्धी डेमोक्रेट जो बाइडन दुवैका चुनावी अभियानहरू साइबर हमलाकारीको दृष्टिमा परेको बताइएको छ । माइक्रोसफ्टले स्ट्रनटियम समूहका रुसी ह्याकरहरूले अमेरिकी दुवै राजनीतिक पार्टी रिपब्लिकन र डेमोक्रेटहरूसँग जोडिएका दुईसय भन्दा बढी सङ्गठनहरूलाई लक्षित गरेको जनाएको छ ।
साइबर हमला गर्ने त्यही समूहले नै ब्रिटेनको पनि राजनीतिक पार्टीहरूलाई निसानामा पारेको माइक्रोसफ्टले बताएको छ । तर ती कुन पार्टी भनेर नाम चाहिँ खुलाइएको छैन । स्ट्रनटियमलाई फ्यान्सी बियरको नामले पनि चिनिन्छ जुन रुसी सेनाको गुप्तचर निकाय जीआरयुसँग आवद्ध रहेको बताइन्छ ।
उक्त प्रविधि कम्पनीका अनुसार चिनियाँ ह्याकरहरूले बाइडनको चुनावी अभियानसँग सम्बन्धित व्यक्तिहरूलाई लक्षित गरेका छन् भने इरानका ह्याकरहरूले भने ट्रम्पको अभियानसँग सम्बन्धित मानिसहरूलाई लक्षित गर्ने निरन्तरको प्रयास गरिरहेका छन् ।
माइक्रोसफ्टका अनुसार धेरैजसो साइबर हमलाहरू सफल भएका छैनन् । चिनियाँ समूहले बाइडेनको अभियानमा आवद्ध रहेका मानिसहरूको व्यक्तिगत इमेल खाताहरूमा हमला गरेको माइक्रोसफ्टले बताएको छ ।
त्यसबाहेक ट्रम्प प्रशासनसँग पहिला रहेका कम्तीमा एकजना प्रभावशाली व्यक्तिको पनि सूचना ह्याक भएको उसले जनाएको हो । आफ्नो एउटा सुरक्षासम्बन्धी ब्लगमा माइक्रोसफ्टले फ्यान्सी बियर नामक रुसी ह्याकरहरू र फोसफोरस नामक इरानी ह्याकरहरूले राष्ट्रपति ट्रम्पको चुनावी अभियानमा काम गर्ने कर्मचारी र राजनीतिक संगठनहरूमाथि हमला गरेको जनाएको छ ।
जिरकोनियम नामक चिनियासँग सम्बन्धित ह्याकरहरूले चाहिँ डेमोक्रेटिक र रिपब्लिकन दुवै पार्टीका अभियानसँग जोडिएका व्यक्तिहरूलाई निसानामा पारेको माइक्रोसफ्टले जनाएको हो । माइक्रोसफ्टका अनुसार धेरैजसो ह्याक गर्ने अर्थात् अनधिकृत रूपमा सूचना लिने प्रयासहरू विफल भएका छन् ।
Leave a Reply