भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार अयोध्यामा हिन्दू मन्दिरको निर्माणका लागि भूमिपूजा गर्दै शिलान्यास गरेका छन् । मोदीले चाँदीले निर्मित पाँचवटा ईँटा मध्यान्ह १२ बजेर ४४ मिनेटको साइतमा मन्दिरको जगमा स्थापना गरेका हुन् । भारतको उत्तर प्रदेश राज्यमा पर्ने भगवान रामको जन्मभूमि मानिएको अयोध्यामा सन् १९९२ मा हिन्दू भिडले मध्ययुगिन बाबरी मस्जिद भत्काएको थियो।
त्यो मस्जिद पहिले त्यहीँ रहेको राम मन्दिर भत्काएर बनाइएको उनीहरूको दाबी थियो । दशकौँसम्म सो स्थानको स्वामित्वका लागि भारतमा हिन्दू र मुस्लिम संगठनबीच विवाद रहे पनि गत वर्ष भारतको सर्वोच्च अदालतले सो स्थान हिन्दूहरूको हुने निर्णय गरेको थियो । राम मन्दिरको शिलान्यास भारतमा कोरोनाभाइरसको सङ्क्रमणमा ह्वात्तै वृद्धि भइरहेको समयमा भएको छ ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले शिलान्यासपछि पाँचसय वर्ष लामो र कडा सङ्घर्ष लोकतान्त्रिक र संविधानसम्मत तरीकाले सम्पन्न भएको बताए । भूमिपूजा कार्यक्रममा भाग लिन पुगेका योगगुरू रामदेवले अयोध्यामा एउटा भव्य गुरुकुल बनाउने घोषणा गरेका छन् । रामदेवले राम मन्दिर निर्माणको कार्यक्रम देख्न पाउनु भारतको सौभाग्य भएको बताए ।
कम्युनिस्ट पार्टी अफ इन्डिया (माक्र्सवादी लेनिनवादी) ले प्रधानमन्त्री मोदी र मुख्यमन्त्री योगी आदित्यनाथले भूमिपूजा कार्यक्रममा भाग लिएकोमा प्रश्न उठाएको छ । आधिकारिक ट्विटरमा उसले राज्यलाई धर्मबाट अलग राखिने भारतीय संविधानको भावनालाई सम्मान गर्न आग्रह गरेको छ । गत वर्ष नोभेम्बर ९ मा भारतको सर्वोच्च अदालतले अयोध्याको विवादित स्थलमा राम मन्दिर बनाउन बाटो खोल्ने फैसला गरेपछि त्यहाँ भव्य मन्दिर निर्माणका योजनाले थप गति लिएको थियो ।
अदालतले बाबरी मस्जिदको गुम्बज भएको स्थान हिन्दू पक्षलाई दिइने फैसला सुनाएको थियो । सन् १९९२ मा मस्जिद भत्काइएको एक दशकपछि यसअघि सन् २००२ मा उक्त विवाद इलाहाबाद उच्च अदालतमा दर्ता भएको थियो ।
त्यसको आठ वर्षपछि सेप्टेम्बर २०१० मा त्यसबारे एउटा फैसला आएको थियो जसअनुसार विवादित २.७७ एकड जमिनलाई बराबर तीन भागमा बाँडेर मुस्लिम समुदाय, हिन्दू समुदाय र हिन्दू सन्न्यासीहरूको एउटा सम्प्रदाय निर्मोही अखडालाई दिनुपर्ने आदेश दिइएको थियो ।
तर हिन्दू र मुस्लिम दुवै समूहले त्यसविरुद्ध सर्वोच्च न्यायालयमा पुनरावेदन गरेपछि सन् २०११ मा त्यो आदेशलाई खारेज गरिएको थियो । उक्त स्थानमा सन् १५२८ मा मुगल सम्राट बाबरको आदेशमा बनेको मानिने एउटा मस्जिद थियो जसको नाम बाबरी मस्जिद रह्यो ।
सन् १९९२ मा हिन्दूहरूको भिडले सो मस्जिद भत्काइदिएको थियो । त्यतिखेर भारतीय जनता पार्टीका तत्कालीन वरिष्ठ नेता लालकृष्ण आडवाणीलगायतले राम रथयात्राको आयोजना गरेका थिए । त्यसपछि भएको साम्प्रदायिक दङ्गामा भारतभर कम्तीमा २,००० मानिसको मृत्यु भएको थियो ।
भारतीय जनता पार्टी तथा उसको निकट रहेको राष्ट्रिय स्वयंसेवक सङ्घले सो स्थानमा राम मन्दिर बनाउने पटकपटक उद्घोष गर्दै आएका थिए । गत वर्षको सर्वोच्चको फैसलापश्चात् त्यहाँ भव्य राम मन्दिर निर्माणको नक्सा बनाउन थालिएको थियो ।
Leave a Reply