सरकार बाहिर रहेर पनि मुलुकको हितमा काम गर्छुः खतिवडा

काठमाडौं । अर्थ, सूचना तथा सञ्चारमन्त्री डा युवराज खतिवडाले सरकार बाहिर रहेर पनि मुलुकको हित, राष्ट्रिय विकास लगायतमा आफू लागिरहने बताएका छन् ।

शुक्रबार सञ्चार मन्त्रालयमा संञ्चारकर्मीसंग संक्षिप्त कुरा गर्दै मन्त्री खतिवडाले आफू सदैव मुलुकको हित र जनताको हितका लागि लागिरहने बताएका छन् । मन्त्रिपरिषद्को बैठकमा आफूले प्रधानमन्त्री केपी ओलीप्रति आभार व्यक्त गरेको उनले बताए । राष्ट्रिय हितमा काम गर्दा कसैको चित्त दुखेको भए आफू व्यक्तिगत अभिष्ट पुरा गर्न नभई राष्ट्रका लागि गरेको भनेर बुझिदिन उनले आग्रह गरे ।

उनले पदमा रहँदा वा नरहँदा पनि व्यक्तिगत स्वार्थमा नलाग्ने स्पष्ट पारे । उनले धेरै अनुभव संगालेर सरकारबाट बिदा हुन लागेको बताए । उनले सञ्चार मन्त्रालयको जिम्मेवारी आफ्ना लागि नयाँ भएको बताए । ‘आमसञ्चार, सूचना प्रविधि, विज्ञापन प्रविधि नबुझ्ने त होइन । तर, यो मन्त्रालय सम्हालुँला र सरकारको प्रवक्ता हुन्छु भन्ने कल्पना गरेको थिइनँ,’ उनले भने, ‘सञ्चार मन्त्रालयको जिम्मेवारी अनपेक्षित थियो ।’ मन्त्री खतिवडाले आजै प्रधानमन्त्रीलाई राजनीनामा बुझाउने जानकारी दिए ।

त्यस्तै उनले सञ्चारमन्त्रीको रुपमा काम गर्दा प्रत्यक्ष रुपमा सञ्चार क्षेत्रलाई बुझ्ने मौका पाएको बताए । खतिवडा पहिलोपटक २०७४ साल चैत २ गते अर्थमन्त्री नियुक्त भएका थिए । राष्ट्रिय सभामा गोलाप्रथाबाट दुई वर्षे कार्यकाल निश्चित गरेका उनको पदावधि सकिएकै दिन २०७६ साल फागुन २० गते राजीनामा दिएपछि त्यसको भोलिपल्ट पुनः उनी दोस्रो कार्यकालका लागि अर्थमन्त्री नियुक्त भएका थिए ।

संविधान बमोजिम संघीय सांसद नभएको व्यक्ति ६ महिनामात्रै मन्त्री हुन पाउँछ । त्यसपछि संघीय संसदको सदस्य नियुक्त हुन नसकेको अवस्थामा स्वतः पदमुक्त हुने व्यवस्था छ । लामो रस्साकस्सीपछि पार्टीले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा पठाउने भएपछि तत्कालका लागि डा. खतिवडाको यात्रा रोकिएको हो ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *