अनुमतिविना एक महिलाले अस्ट्रेलिया आयात गरेको २६ हजार अस्ट्रेलियाली डलर मूल्य पर्ने एउटा हातेझोला जलाइने भएको छ । फ्रान्सस्थित सेन्ट लरेन्ट बुटिकबाट ल्याइएको विलासी झोला पर्थबाट अस्ट्रेलियाली सीमासुरक्षा बलका सदस्यले जफत गरेका हुन् । गोहीको छालाबाट निर्मित सामानहरू अस्ट्रेलियामा आयात गर्न पाइने भए पनि पसलेहरूले ७० अस्ट्रेलियाली डलर तिरी अनुमति लिनुपर्ने हुन्छ ।
अस्ट्रेलियाका वातावरणमन्त्रीले आयात गर्न प्रक्रिया पुर्याउनुपर्ने कुराका लागि पछिल्लो घटना एउटा महँगो जनाउघण्टी भएको प्रतिक्रिया दिएका छन् । ती महिलाले २६,३१३ हजार अस्ट्रेलियाली डलर घाटा बेहोर्नुपर्ने भएपछि अस्ट्रेलियाको कृषि, जल तथा वातावरण मन्त्रालयले थप कदम नचाल्ने निर्णय गरेको छ । अस्ट्रेलियामा वन्यजन्तुसँग सम्बन्धित व्यापारमा संलग्न भएको पाइएमा अधिकतम १० वर्ष जेल सजाय भोग्नुपर्ने र २,२२,००० अस्ट्रेलियाली डलर जरिबाना तिर्नुपर्ने व्यवस्था छ ।
गोहीका छालाबाट निर्मित सामानलाई अस्ट्रेलियाले अनुमति दिए पनि सङ्कटापन्न प्रजातिहरूको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी साईटिस सन्धिअन्तर्गत कडा नियमन गरिन्छ । त्यो हातेझोला आयात गरेकी पसलेले फ्रान्समा साईटिससम्बन्धी निर्यात अनुमति लिए पनि आयातका लागि अस्ट्रेलियामा अनुमति लिएकी थिइनन् । विश्वभरिका सरकारहरूले मानवीय दोहनका सिकार भएका गोहीजस्ता प्रजातिबाट बन्ने उत्पादनमा कडाइ गर्दै आएका छन्।
Leave a Reply