दोस्रो विश्वयुद्धको बेला जापानले युद्धबन्दी बनाएका र बर्मास्थित एउटा शिविरमा मृत्यु भएका एक सैनिकको नासो उनको परिवारले ७७ वर्षपछि फिर्ता पाएको छ । सन् १९४३ मा २३ वर्षीय पिटर र्यामको मृत्यु भएपछि उनका साथी एरिक एडीले कुकुरको घाँटीमा बाँधिने ट्यागहरू फेला पारेका थिए । गत महिना
९६ वर्षको उमेरमा एडीको मृत्यु भएपछि उनका छोरा रोबर्टले लेफ्टिनेन्ट र्यामको आफन्त पत्ता लगाएर ती नासोहरू फिर्ता गरेका हुन् । सन् १९४२ र्याम र एडी दुवै जना रोयल नोर्फक रेजिमेन्टमा हुँदा सिङ्गापुर खटिएका थिए। त्यही बेला जापानी सेनाले आक्रमण गरेर उनीहरूलाई बन्दी बनाएको थियो । रोबर्ट एडीका अनुसार उनीहरूलाई एउटा शिविरबाट अर्को शिविरमा सारिएको थियो। जापानले आफ्नो फौजलाई सामान आपूर्ति गर्न निर्माण गरेको बर्मा रेल्वेमा उनीहरूलाई काम गर्न पठाएको थियो ।
उक्त रेलमार्गको निर्माण गर्दा हजारौँ बन्दीहरूको मृत्यु भयो। ‘मेरा बुवा युद्धका बेलाको कुरा खासै गर्नुहुन्नथ्यो। युद्धबन्दी हुँदाको कुरा त झन् गर्नैहुन्नथ्यो,’ एडीले भने । ‘तर उहाँले एउटा शिविरमा ज्यान गुमाएका आफ्ना साथीबारे भन्नुभएको थियो।’ एरिक एडीलाई बर्माको रेल्वेमा काम गर्न खटाइएको थियो जहाँ एक लाख युद्धबन्दीको मृत्यु भएको थियो ।
“कुनै कारणले बुवाले पिटरको नासो फिर्ता गर्नुभएन। अनि ७७ वर्षसम्म त्यो उहाँसँगै रह्यो,“ उनले भने, “मैले सामान खोज्दा ती ट्यागहरू हाम्रो परिवारका हैनन् भन्ने पत्तो पाएँ।“ “अनि म पिटरको परिवार खोज्न थालेँ।“ र्यामका भान्जा रोबिन ग्रीनलाई आफ्ना मामाको बर्मास्थित शिविरमा मृत्यु भएको थाहा थियो। उनीसँग र्यामका दुईवटा डायरी पनि थिए । तर एडीको फोन आउँदा र मामाको नासो फिर्ता पाउँदा उनी छक्क परे ।
आफूसँग आफ्ना मामा र उनका साथी पिटरले सँगैसँगै तालिम लिएको तस्बिर पनि भएको उनले बताए । जापानले आत्मसमर्पण गरेपछि दोस्रो विश्वयुद्ध समाप्त भएको थियो । शनिवार ७५ औँ भीजे डे मनाइँदैछ। त्यसको पूर्वसन्ध्यामा रोयल ब्रिटिश लीजनले सार्वजनिक गरेका कथाहरूमध्ये र्यामको नासोको कथा पनि संलग्न छ ।
Leave a Reply