प्रजातान्त्रिक गणतन्त्र कङ्गोकोे पूर्वी क्षेत्रमा रहेको एउटा सुन खानीमा पहिरो जाँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ ।
धेरै दिनको भारी वर्षापछि पहिरोको कारण दक्षिण किवु प्रान्तको कमितुगा सहरमा शुक्रबार भएको उक्त घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।
प्रान्तीय गभर्नर थेओ एनग्वाबिड्जे कासीले शनिबार बिहान एक विज्ञप्तिमार्फत् घटनाको पुष्टि गरेका छन् । खानीका लागि खनिएका तीन वटा गहिरा खाडलमा पानी पसेका कारण पहिरो जाँदा उनीहरूको मृत्यु भएको हो ।
कमितुगा सहरका मेयर अलेकज्यान्डर बुन्ड्याले घटनापछि दुई दिनको शोक अवधिको घोषणा गरेका छन् । उनले स्थानीय बासिन्दालाई जमिनबाट शवहरू निकाल्न उद्धारकर्ताहरूलाई सहयोग गर्न आग्रह गरे ।
दक्षिण किवु प्रान्तमा खानीको अवैज्ञानिक उत्खनन गर्दा हरेक बर्ष स्थानीय बस्ती र वरपरका क्षेत्रमा पहिरो जाने र सयौँ नागरिकले अकालमा ज्यान गुमाउने गर्छन् ।
Leave a Reply