न्याम्सका स्वास्थ्यकर्मी किन तलब सुविधाबाट वञ्चित ?

काठमाडौं । मुलुककै ठूलो सरकारी अस्पताल वीर र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का स्वास्थ्यकर्मीहरु तलबसुविधाबाट बञ्चित भएका छन् । नेपाल नर्सिङ काउन्सिलका अध्यक्ष प्राध्यापक गोमादेवी निरौलाले आर्थिक अभावलाई देखाउँदै प्रतिष्ठान अन्तर्गतका स्वास्थ्यकर्मीहरुले तलबसुविधा नपाएको जानकारी गराएकी हुन् ।

मंगलबार बसेको शिक्षासमिति अन्तर्गतको उपसमिति बैठकमा उनले निरन्तर सेवामा जुटिरहँदा पनि आर्थिक अभावका कारण कुनै सुविधा उपलव्ध हुन नसकेको गुनासो गरिन् । वीरमा कार्यरत सरकारी कर्मचारीहरुलाई सरकारले तलव पठाएको र अन्यलाई भने अस्पतालमा आम्दानी नभएकाले तलव खुवाउन नसकेको जवाफ आएको उनको भनाई छ ।

त्यस्तै अस्पतालमा कार्यरत नर्सहरुलाई पनि मनोवल गिराउने काम अस्पतालकै चिकित्सकबाट भएको गुनासो आएको उनले बताइन् । हाल प्रतिष्ठान अन्तर्गत ४ सय भन्दा बढी कर्मचारीहरु वीर अस्पतालमा कार्यरत छन् ।