लद्दाखमा भारतीय सेनाले सीमास्थित नियन्त्रणरेखा उल्लङ्घन गरेको चिनियाँ आरोपको भारतले खण्डन गरेको छ । बरु उक्त दुर्गम हिमाली क्षेत्रमा दुई पक्षबीच तनाव उत्पन्न हुँदा चिनियाँ पक्षले हावामा गोली हानेको नयाँ दिल्लीले दाबी गरेको छ । उसका अनुसार विवादित क्षेत्रमा सोमवार चिनियाँ सैनिकहरू भारतीय सैन्य इलाकानजिकै आउन खोजेका थिए ।
प्रतिक्रियास्वरूप भारतीय सेनाले चिनियाँ पक्षलाई फिर्ता गराउन खोज्दा चिनियाँ सैनिकहरूले हावामा गोली हानेको उसको दाबी छ । गत राति चिनियाँ सेनाले भारतीय सैनिकहरूले चेतावनी दिँदै गोली हानेपछि आफूले प्रतिकार गरेको बताएको थियो । विश्लेषकहरूका अनुसार सन् १९७५ पछि उक्त क्षेत्रपछि सीमामा गोली चलेको यो पहिलो पटक हो । गत जुन महिनामा भारतीय र चिनियाँ सेनाबीच गलवान क्षेत्रमा भिडन्त हुँदा कम्तीमा २० भारतीय सैनिकहरूको मृत्यु भएको थियो।
त्यो बेला गोली भने चलेको थिएन । उक्त घटनामा आफूतर्फ कति सैनिक हताहत भए भन्नेबारे चीनले केही भनेको छैन । भारतीय सेनाले चिनियाँ फौजले उक्साहटपूर्ण कार्य गरे पनि भारतीय सैनिकहरू संयमित भएको र परिपक्व एवम् जिम्मेवार व्यवहार गरेको जनाएको छ । भारतीय सेनाले चीनका वेस्टर्न थिएटर कमान्डले वक्तव्यमार्फत् आफ्नै देशभित्र र अन्तर्राष्ट्रिय जगत्लाई झुक्याउने प्रयास गरेको आरोप पनि लगाएको छ ।
Leave a Reply