भारतले चिनियाँ सैनिकहरूले पूर्वी लद्दाखमा सीमाबारे गरिएको एउटा सहमति उल्लङ्घन गरेको आरोप लगाएको छ । चिनियाँ पक्षले उत्तेजक सैन्य गतिविधि गर्दै सीमामा विद्यमान स्थिति परिवर्तन गर्ने प्रयास गरेको तर आफ्नो सेनाले त्यसलाई विफल पारिदिएको दाबी भारतले गरेको छ ।
भारतीय सूचना विभागले प्रकाशित गरेको विज्ञप्तिमा भारतीय सेनाले आफू संवादमार्फत् शान्ति कायम गराउने पक्षमा भएको तर उक्त क्षेत्रलाई अखण्ड राख्न प्रतिबद्ध भएको उल्लेख छ । चीनका विदेशमन्त्रीले चिनियाँ सेनालले सीमा रेखा पार नगरेको र दुवै देशका सेनाबीच संवाद कायम रहेको बताएको ग्लोबल टाइम्स पत्रिकाले लेखेको छ । गत जुन महिनामा भारत र चिनियाँ सैनिहरूबीच गलवान उपत्यकामा भिडन्त हुँदा कम्तीमा २० भारतीय सैनिकको मृत्यु भएको थियो। चीनले आफ्नो पक्षमा कति जना हताहत भए भन्ने सार्वजनिक गरेको छैन ।
दुवै पक्षले एकअर्कालाई सीमा उल्लङ्घन गरेको र उक्साएको आरोप लगाएका थिए । अगस्ट २९ गते राति पाङ्गोङ त्सो तालको दक्षिणी किनारमा चिनियाँ पक्षले गर्न खोजेको गतिविधि भारतीय सेनाले तुहाइदिएको दिल्लीको दाबी छ । भारतीय सेनाका अनुसार चीनको पीपल्स लिबरेशन आर्मीले सीमामा यथास्थिति फेर्न खोज्दा सतर्क भारतीय सैनिकहरूले त्यसो गर्न दिएनन् ।
अहिले पूर्वी लद्दाखमा ठूलो सङ्ख्यामा चिनियाँ सैनिकहरू भएको बताइन्छ । भारतीय पक्षले आफू शान्तिवार्ताका लागि प्रतिबद्ध भएको तर आफ्नो भौगोलिक अखण्डताको रक्षा पनि गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ । भारतले सीमामा भएको विषयबारे विज्ञप्ति निकाल्नुलाई विश्लेषकहरूले सीमामा शान्ति भङ्ग भइसकेको सङ्केतका रूपमा लिएका छन् ।
भारत र चीनबीच ३,५०० किलोमिटर लामो सीमा छ। उनीहरूबीच सीमाबारे विवाद पनि छ । सीमासम्बन्धी विवादकै कारण सन् १९६२ मा भारत(चीन युद्ध भएको थियो । जुनमा भएको घटनापछि दुई पक्षबीच शान्ति कायम गर्न धेरै चरणमा वार्ताहरू भए। तर तनाव अझै बाँकी छ । केही समययता विभिन्न कारणले दुई देशबीच तनाव बढेको छ।
तर तीमध्ये दुवै पक्षका रणनीतिक लक्ष्यलाई मूल कारण मानिएको छ। दुवैले विवाद बढ्नुमा एकअर्कालाई दोषारोपण गर्ने गरेका छन् । द्वन्द्व बढे दुर्गम लद्दाखको सीमावर्ती क्षेत्रमा भारतले निर्माण गरेको नयाँ सडकबाट भारतीय पक्षले जनशक्ति र सामग्री शीघ्र पठाउन सक्ने विश्लेषकहरूको भनाइ छ ।
उक्त क्षेत्रमा भारतले भौतिक पूर्वाधार बनाउने निर्णय गरेपछि चीन आक्रोशित भएको हुनसक्ने विश्लेषकहरूको धारणा छ । गत साता भारतका विदेशमन्त्री एस जयसङ्करले चीनसँगको वास्तविक नियन्त्रण रेखामा सन् १९६२ पछि अहिले सबैभन्दा गम्भीर तनाव उत्पन्न भएको बताएका थिए । पैँतालीस वर्षपछि चीनसँग सङ्घर्ष हुँदा सैनिकहरू हताहत भएको भन्दै उनले सीमामा दुवै देशका सैनिकहरू परिचालित हुनु अप्रत्यासित भएको टिप्पणी गरेका थिए ।
यसअघि भूतपूर्व सेनाप्रमुख बिपिन रावतले दुई देशबीच वार्ता भइरहेको अनि त्यसबाट विवाद समाधान नभए सैन्य विकल्प भएको बताएका थिए । भारतले चिनियाँ पक्षले यथास्थिति बहाल गर्नुपर्ने र भारतीय क्षेत्रबाट चिनियाँ सैनिकहरू फर्किनुपर्ने बताउँदै आएको छ । गत साता भारतीय विदेश मन्त्रालयका प्रवक्ताले चिनियाँ सेना फर्किए स्थिति सामान्य हुनसक्ने बताएका थिए।
Leave a Reply