कडा कर्फयूका कारण काठमाडौं उपत्यकाका सडक सुनसान

काठमाडौं, ४ भदौ । काठमाडौ उपत्यकाका तीनवटै जिल्लाका स्थानीय प्रशासनले लागू गरेको निषेधाज्ञाको कारण आज बिहानैदेखि काठमाडौं उपत्यकाका मुख्य सडकहरु सुनसान बनेका छन् । एकैदिनमा काठमाडौं उपत्यकामा मात्रै २०० भन्दा बढी व्यक्तिहरु कोरोना भाइरसबाट संक्रमित भएको तथ्य बाहिर आएपछि प्रशासनले कडाई गर्ने नीति अपनाएको हो ।
कोरोना सङक्रमण तीव्र गतिमा फैलिन थालेपछि काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले तीनैवटै जिल्लामा एक साताको लागि एकसाथ निषेधाज्ञा लागू गरेका हुन् ।
आज बिहान निषेधाज्ञा उल्लंघन गर्ने ४०० भन्दा बढी मानिस र ५०० भन्दा बढी सबारी साधनलाई प्रहरीले केही समय रोकेर छाडेको नेपाल प्रहरीले जनाएको छ ।
आज २ बजेपछि अझ कडाइ गरिने ज्ञात भएको छ । यसका लागि सैयौं प्रहरी विभिन्न क्षेत्रमा परिचालन गरिएका छन् । सडकमा गुड्ने सवारी साधन र अत्यावश्यक काममा पैदल हिँड्नेसँग पनि प्रहरीले सोधपुछ गरेर मात्र छाड्ने गरेका छन् । मनासिव कारणविना कर्फयू उल्लंघन गर्नेलाई प्रहरीले कम्तिमा स्थलगत रुपमै रोकर राख्ने रणनीति अपनाएको देखिन्छ ।
सरकारी सबारी साधनहरुले बढी मात्रामा निषेघाज्ञा उल्लंघन गरेमा सर्वसाधारणले पनि निषेधाज्ञा उल्लंघन गर्ने संभावना रहेकोले अत्यावश्यक सवारी साधन समेत कम चलाउन जनस्वास्थ्य विज्ञले आग्रह गरेका छन् ।
नाम दिन नचाहने जनस्वास्थ्य विज्ञले कर्फयूको समयमा राजनीतिक दल वा सरकारी कार्यालयका रोहबरमा कुनै बैठक र भेला भएको खबर आमसञ्चार माध्यमले प्रसारण प्रकाशन गरेमा भोलीदेखि कर्फयू उल्लंघनका परिस्थितिहरु बढ्ने भएकोले यसतर्फ सचेतना आवश्यक भएको बताएका छन् ।
आज पनि मुख्य सडकमा चहलपहल घटे पनि प्रहरीको आंखा छलेर भित्री सडकहरुमा आवातजावत भइरहेको छ । तर भित्री गल्लीहरुमा पनि पसलहरु बन्द भएकाले भिडभाड कमै रहेको बताइएको छ ।
कर्फयूका बाबजूद मोटर साइकलको आवातजावत भने बढी नै रहेको पाइएको छ । नेपाल प्रहरीले कडा रुपमा कर्फयू लागू गर्ने भएकोले विना अत्यावश्यक काम घरबाहिर ननिस्कन स्थानीय प्रशासनले यसअघि नै आव्हान गरिसकेको छ ।
आजदेखि सुरु भएको निषेधाज्ञा भदौ १० गतेसम्म जारी रहने छ ।
ठाउँठाउँमा प्रहरीले माइकिङ गर्दै निषेधाज्ञाको पालना गर्न अपिल गरिरहेको छ । तीनवटै जिल्लाका स्थानीय प्रशासनले औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्यवस्तु वा सेवा खरिदको काममा बाहेक कसैलाई पनि घरबाट बाहिर ननिस्कन अपिल गरेका छन् ।
फुटपाथ वा खुल्ला ठाउँमा र ठेलागाडा वा साइकलमा सञ्चालन हुने विभिन्न व्यवसाय सञ्चालन तथा कवाडी संकलन गर्न समेत बन्देज लगाइएको छ । निषेधाज्ञाको अवधिमा होटल, भोजनालय, शैलुन, जीम, रेष्टुराँ सञ्चालन गर्न पाइने छैन ।