काठमाडौं । काठमाडौँ उपत्यकाका तीन जिल्लामा बुधबार रातिदेखि लागू हुने गरी अत्यावश्यकबाहेकका सबै गतिविधिमा निषेध गरिएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको बैठकले अत्यावश्यकबाहेकका गतिविधि निषेध गर्ने गरी आदेश जारी गरेको हो ।
कोभिड –१९ सङ्क्रमणको उच्च वृद्धिका कारण जोखिम बढेको निष्कर्ष निकाल्दै बुधबार मध्यरातिदेखि यही भदौ १० गतेसम्म लागू हुने गरी उक्त आदेश जारी गरिएको काठमाडौँका प्रजिअ जनकराज दाहालले जानकारी दिए । सङ्क्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ९३० बमोजिम काठमाडौँ उपत्यकाभर लागु हुने गरी उक्त निर्णय गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार बुधबारदेखि औषधि तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरीदको कामबाहेक कुनै पनि व्यक्ति घरबाट निस्किन नपाउने गरी १७ बुँदे निर्णय गरिएको छ । अत्यावश्यक सेवा तथा वस्तुबाहेक अन्य सबै प्रकारका व्यापारव्यवसाय सञ्चालन गर्नसमेत निषेध गरिएको छ । अत्यावश्यक सामग्रीलगायत मालबाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक काठमाडौँ उपत्यकाभित्र सवारी प्रवेशमा समेत निषेध गरिएको छ ।
Leave a Reply