द्वितीय विश्वयुद्ध समाप्त भएको ७५ वर्ष पूरा

जापानले द्वितीय विश्वयुद्धमा आत्मसमर्पण गरेको ७५ वर्ष पूरा भएको दिनको सम्झनामा युद्ध स्मारकमा कार्यक्रम गरेको छ । जापान विरुद्धको विजय दिवसका रूपमा विश्वका विभिन्न देशमा कार्यक्रम आयोजन गरिने दिन विश्वयुद्ध समाप्त भएको दिन मानिन्छ । जापान विरुद्धको युद्धमा १२ हजार युद्धबन्दीसहित ७१ हजार ब्रिटिश र कमनवेल्थ सैनिक मारिएको बताइन्छ ।

जापानका सैनिक र नागरिक गरी २५ लाखभन्दा बढी व्यक्ति मारिएको अनुमान गरिन्छ । जापानका प्रधानमन्त्री शिन्जो आबेले टोकियोको एक विवादास्पद युद्ध स्मारकमा चढाउन भेट पठाए पनि उनी त्यहाँ उपस्थित भएनन् । तर उनका दुई मन्त्रीहरू भने यासुकुनी स्मारकमा पुगे जसले चीन र दक्षिण कोरियालाई आक्रोशित बनाउने सम्भावना छ । चीन र दक्षिण कोरियाले सो स्मारकलाई जापानको सैन्य दमनको प्रतीक मान्छन्। त्यहाँ युद्धपछि विजेता शक्तिले युद्ध अपराधी प्रमाणित गरेका १४ जापानी नेताहरूको स्मारक छ ।

सन् १९४५ अगस्ट १५ का दिन जापानी सम्राट हिरोहितोले राष्ट्रको नाममा सम्बोधन गर्दै युद्ध समाप्त भएको घोषणा गरेका थिए । जापानले आधिकारिक रूपमा आत्मसमर्पणको दस्तावेजमा सेप्टेम्बर २ तारिखमा हस्ताक्षर गरेको थियो । युरोपमा चार महिना अगाडि मे ८ तारिखमा जर्मनीले आत्मसमर्पण गरेपछि विजय दिवस मनाइसकिएको थियो तर एशियामा त्यसपछि पनि यु्द्ध जारी रहेको थियो । अमेरिकाले हिरोशिमा र नागासाकीमा अगस्ट ६ र ९ तारिखमा दिन परमाणु बम खसालेपछि जापानले आत्मसमर्पण गरेको थियो । ती बमले २ लाख भन्दा बढी मानिसहरू मरेको मानिन्छ ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *