सामाजिक सञ्जालमा इस्लामिक धर्मगुरु पैगम्बर मोहम्मदको अनादर हुने सामग्री प्रकाशित गरिएको भन्दै विरोध गरिरहेका प्रदर्शनकारीरूमाथि प्रहरीले गोली चलाउँदा दक्षिण भारतको बेङ्गलुरुमा तीन जनाको मृत्यु भएको छ ।
फेसबुकमा त्यस्तो आपत्तिजनक सामग्री प्रेषित गरेको आरोप लागेका एक व्यक्तिसँग नाता पर्ने स्थानीय नेताको घरबाहिर प्रदर्शनकारीहरूको भिड लागेको थियो । त्यहाँ उनीहरूले सवारीसाधनमा आगो लगाइदिएका थिए ।
त्यहाँ आइपुगेका प्रहरीहरूलाई उनीहरूले ढुङ्गा प्रहार गरेको बीबीसी हिन्दीले जनाएको छ । प्रहरीले आरोप लागेका ती व्यक्ति र ११० प्रदर्शनकारीलाई पक्राउ गरेको छ । प्रदर्शनकारीहरूले एउटा प्रहरी चौकीमा पनि आक्रमण गरेका बताइएको छ । मङ्गलवार राति भएको घटनामा ६० जनाभन्दा बढी सुरक्षाकर्मीहरू घाइते भएका बेङ्गलुरुका आयुक्त कमल पन्तले बताएका छन् ।
हिंसा भड्किएपछि त्यहाँ कर्फ्यू आदेश जारी गरिएको थियो । प्रहरीले अहिले स्थिति नियन्त्रणमा आएको जानकारी दिएको छ । अश्रुग्यास र लाठी प्रहार गर्दा पनि भिड नियन्त्रण हुन नसकेपछि सुरक्षाकर्मीले गोली चलाएको उसको दाबी छ ।
कर्णाटक राज्यका गृहमन्त्रीले उक्त घटनामा मानवीय क्षति भएको पुष्ट गरेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार फेसबुकबाट उक्त सामग्री मेटिएको छ । गृहमन्त्री अखण्ड श्रीनिवासले भिडिओमार्फत् प्रदर्शनकारीहरूलाई संयमित हुन आग्रह गरेका छन् । उनले न्याय हुने वचन दिएका छन् ।
Leave a Reply