अस्ट्रेलियाको मेलबर्नमा कोरोनाभाइरसको दोस्रो लहर फैलिरहँदा देशमा हालसम्मकै सबैभन्दा धेरै मानिसले भाइरसका कारण ज्यान गुमाएका छन् । मेलबर्न राजधानी भएको भिक्टोरिया राज्यमा सोमबार १९ जनाको कोरोनाभाइरसका कारण ज्यान गएको छ । अस्ट्रेलियामा हालसम्म भएको ३१४ वटा मृत्यु र २१,४०० सङ्क्रमणको घटनामध्ये दुई तिहाइ भिक्टोरियामा भएको छ ।
तर दैनिक सङ्क्रमितहरूको सङ्ख्या सयौँमा भएपनि हालैका दिनमा घट्दो क्रममा देखिएको छ। यसबाट त्यहाँ लागु ’लकडाउन’ को व्यवस्था प्रभावकारी भएको हुनसक्ने आशा जगाएको छ । मेलबर्नमा झण्डै एकमहिना अघि दोस्रो ’लकडाउन’ गरिएको थियो भने अगस्ट ३ तारिखदेखि त्यहाँ रात्रीकालिन कर्फ्यू र कडा नियमहरू लागु गरिएको छ ।
घरबाट बाहिर निस्केर काममा जानेहरूले त्यसका लागि दिइएको अनुमतिपत्र बोक्नुपर्छ र अत्यावश्यक बाहकेका सबै पसल, व्यवसाय र कार्यालयहरू बन्द छन् । सार्वजनिक स्थानमा नाकमुख ढाक्ने मास्क लगाउनु पनि अनिवार्य छ । छिमेकको न्यू साउथ वेल्स राज्यको सिड्नी शहरमा निश्चित क्षेत्रहरूमा कोरोनाभाइरस सङ्क्रमण समूहगत रूपमा देखा परेको छ ।
त्यहाँको सरकारले युवाहरूलाई तिनका सामाजिक क्रियाकलाप सीमित तुल्याउन आह्वान गरेको छ । क्वीन्सल्याण्डले न्यू साउथ वेल्स र भिक्टोरियासँगको आफ्नो सीमा बन्द गरेको छ । त्यहाँ महामारीलाई रोक्न सकिएको सोमवार बताइएको छ। दुइ हप्ताअघि यात्रुहरूले त्यहाँ मेलबर्नबाट भाइरस भित्राएका थिए ।
भाइरसको प्रभावलाई न्यूनीकरण गर्ने कुरामा अन्य देशहरूको दाँजोमा अस्ट्रेलियाको अवस्था अझै पनि राम्रो नै छ । महामारीको आरम्भमा नै अपनाइएको नियन्त्रणका प्रभावकारी उपायहरूलाई यसका लागि जस दिने गरिन्छ । तर जुन महिनायता धेरै जसो अस्ट्रेलियालीहरू पहिलो चरणको ’लकडाउन’ बाट बाहिरिँदा मेलबर्न शहरमा सङ्क्रमणको अवस्था चर्किन पुगेको छ । त्यहाँ सङ्क्रमणको स्थिति महामारी सुरु भएयता अष्ट्रेलिया भरिको कुल सङ्क्रमणको ७० प्रतिशत रहेको छ ।
Leave a Reply