हाम्रै पार्टीमा हेर्नुस् न यो महामारीमा कति गैरजिम्मेवारपन छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संकटलाई विरोध गर्ने अवसरका रूपमा नलिन आग्रह गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा विज्ञ र विभिन्न राजनीतिक दलका नेताहरूसँगको परामर्शमा प्रधानमन्त्री ओलीले संकटलाई विरोध गर्ने माध्यम बनाएको भन्दै संकटलाई विरोध गर्ने अवसरका रूपमा नलिन आग्रह गरेका हुन् ।

कहिले लकडाउन किन गरेको भनेर विरोध गरेको र कहिले लकडाउन किन खोलेको भनेर सरकारप्रति विरोध भएको उनको गुनासो थियो । प्रधानमन्त्री ओलीले सङ्कटको बेलामा गैरजिम्मेवार ढङ्गले प्रस्तुत भएको भन्दै आफ्नै पार्टीका नेताहरुको कार्यशैलीप्रति असन्तुष्टि पनि जनाए । प्रधानमन्त्री ओलीले सरकारले २५ जनाभन्दा बढी भेला नहुन भनेको भएपनि नेकपाभित्रै चार सय ५० को केन्द्रीय कमिटी तुरुन्त चाहियो भनेर आवाज उठाएको बताए । उनले देश र जनताप्रतिको गम्भीर उदासिनता, लापरवाही, बेवास्ता गर्ने प्रवृत्ति र आफ्ना स्वार्थका पछाडि कुद्ने प्रवृत्ति निकै व्यापकरुपमा देखिएको तर्क गरे । अहिले संकटका बेला सबै एक हुनुपर्ने उनको भनाई छ ।

छलफलमा सभापति शेरबहादुर देउवाले संक्रमण हेरेर लकडाउनबारे निर्णय गर्न प्रधामन्त्रीलाई सुझाव दिएको बताए । हरेकलाई सामाजिक दूरी कायम गर्न र मास्क अनिवार्य गर्न कडाई गर्नुपर्ने उनको सुझाव छ । देउवाले समुदायमा संक्रमण फैलिएको नफैलिएकोबारे पत्ता लगाएर निर्णय गर्न सल्लाह दिएका थिए ।

प्रधानमन्त्री ओलीले कोभिड १९ को संक्रमण बढ्दै गएपछि यसको नियन्त्रणबारे विज्ञहरुसँग छलफल गरेका हुन् । प्रतिदिन १८ हजार सम्मको परीक्षण गर्न सकिने गरि ल्याबको स्थापना गरिएकोबारे प्रधानमन्त्रीको सचिवालयले विज्ञहरुलाई जानकारी गराएको थियो । प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरागाईंले हालसम्म ४ लाखको पीसीआर परीक्षण गरिएको जानकारी गराएका थिए ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *