काठमाडौं । डिस मिडिया नेटवर्क (डिस होम) ले मनपरी ढंगमा ग्राहक संख्या बताउँदै करोडौं रुपैयाँ कर छली गर्दै करिब २० प्रतिशतमात्र कर तिर्दै आएको विषयमा आन्तरिक राजस्व विभागले अनुसन्धान थालेको छ ।
डिस होमले ग्राहक संख्या लुकाएर मासिक ४ करोडौं रुपैयाँ कर छली गर्दै आएको समाचार खोजतलास साप्ताहिकलगायत विभिन्न अनलाइनमा प्रकाशित भएपछि विभागले अनुसन्धान थालेको हो । डिस होमको कर छलीको विषय समाचारे प्रकाशन भएपछि ठूला करदाता कार्यालयले टोली गठन गरी अनुसन्धान गरिरहेको छ । ठूला करदाताले डिस होमको केन्द्रीय कार्यालय भैंसेपाटीमा छापा मारी कागजातसमेत नियन्त्रणमा लिएको बताइएको छ ।
डिस होमको कर छलीमाथि यसअघि अनुसन्धान अघि बढाइसकेको विभागका अनुसन्धान निर्देशक ऋषिराम पोखरेलले जानकारी गराएका थिए ।
‘डिस होमसँगै पे–टिभी सेवा प्रदान गर्दै आएका कम्पनीहरुले तिर्ने करको विषयमा अनुुसन्धान सुरु भएको छ,’ पोखरेलले भने, ‘पे–टी सेवा प्रदायक कम्पनीहरुले आयात गरेको सेटअप बक्स संख्याभन्दा ग्राहक संख्या अति नै न्यून देखाइने गरिएको छ ।’
विभागले अहिले विदेशबाट आयात भएको सेटअप बक्सको विषयमा अध्ययन थालेको छ । आयात भएकामध्ये कति सेटअप बक्स ग्राहकका घरमा जोडिएका छन्, कति स्टकका छन् भन्ने विवरण खोज्ने काम सुरु भएको विभागले जनाएको छ ।
विभिन्न सेवा प्रदायक कम्पनीहरुले विदेशबाट आयात गर्ने छाता, एन्टेना, सेटअप बक्स र मासिक प्याकेजमा हुने कारोबारको विषयमा समेत विभागले अनुसन्धान गरिरहेको बुझिएको छ ।

Leave a Reply