सात साल यताको मात्रै कुरा गरौँ

केशवप्रसाद भट्टराई ।
यस कारण नेपाल भुटान जति विकसित पनि छैन र मालदिभ्स जति स्वतन्त्र पनि छैन !

१. हामी कहिल्यै कसैको नियन्त्रणमा नरहेको स्वतन्त्र र प्रभुसत्ता सम्पन्न मुलुक रे !
तर हाम्रो नियति ???
सात साल अगाडिको कुरा छोडौं रे ।
त्यो त बताएर साध्ये नै छैन ।
सात साल यताको मात्रै कुरा गरौँ ।
भारतीय योजना र रणनीति अन्तर्गत राजा त्रिभुवन भारत उडे ।
केही महिना उतै बसे ।
त्यसै बखत भारतको प्रतक्ष परोक्ष प्रोत्साहन, सहयोग र समर्थनमा नेपाली काङ्ग्रेसले सशश्त्र युद्ध थाल्यो ।
भारतको रोहवरमा उसकै निर्देशन,दवाव र प्रभावमा मोहन समशेर र राजा त्रिभुवनवीच एउटा सहमति /सम्झौता भयो।
नयाँ सरकार कस्तो बन्ने? कसरी बन्ने ? भन्ने कुराको निर्णय दिल्लीले गर्यो ।

त्यो सहमति वा सम्झौतामा सशश्त्र युद्धको पक्ष रहेको काङ्ग्रेस कतै थिएन ।  भारतको रोहबरमा राजा त्रिभुवन र श्री ३ मोहनका वीच भएकै सम्झौता मान्न नेपाली काङ्ग्रेस वाध्य बन्यो ! वाध्य थियो ।  कुरो यो पनि थियो कि मोहन समशेर पनि भारतले तोकिदिएको राजनीतिक परिवर्तनको सूची स्वीकार्न वाध्य थिए ।त्यस्तै राजा त्रिभुवन ।  तीनै पक्ष त्यसरी वाध्य ।

२. भारतले नेपाल विरूद्ध नाकाबन्दी लगाएको थियो ।
दुई मुलुक वीचको सम्वन्ध चरम कटुता र घृणाको स्तरमा पुगेको थियो ।
भारतीय सरकारी रेडियो र टेलिभिजनहरूमा नेपालका राजा, रानी र व्यवस्था विरूद्ध चरम घृणा र लाञ्छना बर्सिन्थ्यो ।
तर नेपाली काङ्ग्रेस र कम्युनिस्ट पार्टीका नेताहरू भारतीय दुतावासको कार्यक्रममा सहभागी भइरहेका हुन्थे ।
जस्तो कि -१३ नोभेम्बर १९८९मा राष्ट्रिय सभा गृहमा सम्पन्न नेहरू जन्म शताव्दी समारोहमा भारतीय राजदुत अरविन्द रामचन्द्र देवको उपस्थितिमा नेताहरूको उपस्थिति र उनीहरूको सरकार र व्यवस्था विरूद्धको चर्को भाषण ।
माघ ५-७, २०४६मा चाक्सीबारीमा भारतका सत्तारूढ र विपक्षीदलहरूका नेताहरूको राजा र पंचायत विरोधी कडा संवोधन ।
अनि आन्दोलन ……
जन आन्दोलनबारे लामा अरू कुरा त नगरौँ तर त्यसको एउटा रोचक पक्ष के थियो भने २०४६ चैत २४ गतेको आन्दोलनको आयोजक काङ्ग्रेस र वाम मोर्चा थिएनन् ,
साना साना राजनीतिक समूहबाट बनेको,
जनतामाझ खासै परिचित नरहेका ,
विभिन्न भूमिगत संगठनहरूबाट संगठित संयुक्त राष्ट्रिय जन आन्दोलनले २०४६को आन्दोलनलाई निष्कर्षमा पुर्याउन २०४६ चैत्र २४ गते निर्णायक चरित्रको जन आन्दोलनको संयोजन गर्यो।

नेपाली जनताले नचिनेको कुनै संगठनले आयोजना गरेको जुलुस र प्रदर्शन जन आन्दोलन अवधिको सवै भन्दा ठूलो थियो ।
काङ्ग्रेस र वाम मोर्चाले भन्दा ठूलो जन समूह कसरी त्यो सङ्गठनले जुटायो त्यो प्रश्न थाँती नै छ ।
त्यही दिन दरवारको राजा महेन्द्रको सालिक तोडियो I  सवैभन्दा बढी मानिस त्यही दिन मरे/मारिए । सवैभन्दा ठूलो प्रदर्शन त्यही दिनको थियो ।
त्यही दिन देखि कर्फ्यु लाग्यो र राजा वीरेन्द्रले चैत २६मा काङ्ग्रेस र संयुक्त वाम मोर्चाका नेताहरूलाई भेटेर राती ११ बजे को घोषणा पछि मात्रै कर्फ्यु हट्यो ।

२०४६को जनआन्दोलन सम्पन्न , बहु दलीय व्यवस्था पुनर्स्थापना भयो । राजाका प्रतिनिधिहरू सहितको काङ्ग्रेस वाम सरकार गठन भयो ।
त्यसपछि भारतले डेढ वर्ष देखि लगाइरहेको नाकाबन्दी स्वतः हट्यो -हटाइयो ।
सम्बन्ध पूर्ववत भयो ।
——
तर यी प्रक्रियामा २४ गतेको आन्दोलनको पक्ष कतै देखिएन ।

त्यो नाकाबन्दी नेपालमा राजनीतिक व्यवस्था परिवर्तनगर्ने उद्देस्यले मात्र लगाइएको सावित भयो ।
सावित गरियो ।

३. २०५२मा माओवादीले कथित जन युद्ध शुरू गरे । कसका विरूद्ध गरेका थिए ?  उत्तर नै छैन ।लामो समयसम्म राज दरवार र सेनाले माओवादी प्रति सद्भाव राखिरहे ।

प्रहरी,काङ्ग्रेस र काङ्ग्रेस सरकार विरूद्धको माओवादी क्रियाकलापलाई दरवार र सेनाले लामो समयसम्म सन्चो मानेर बसेको देखियो I
राजदरवारसँग सहकार्य /समझदारीमा रहेको कुरा प्रचण्ड -बाबुरामले भनेकै छन् ।

शुरूमा एमाले त सद्भाव मात्रै राख्दैनथ्यो उसको अग्र वैधानिक मोर्चाको रूपमा समेत काम गर्दथ्यो । गाउँ गाउँबाट काङ्ग्रेस जति सवै लखेटिए पछि मात्रै एमालेहरू माओवादीको घानमा पर्न थालेका थिए।

माओवादीले सेना विरूद्ध नै आक्रमणगर्ने हैसियत आर्जन गरे पछि मात्रै सेना र दरवार सतर्क भएको थियो तर ढिलो भैसकेको थियो ।
त्यतिखेर सम्म माओवादीले आफ्नो क्षमताको दायरा मात्रै बढाएका थिएनन्, सेना, काङ्ग्रेस र दरवारले भन्दा ठूलो र व्यापक अन्तर्राष्ट्रिय सम्बन्ध र संजाल निर्माण गरेर आफ्नो सुरक्षा र संरक्षणको बलियो र झन्डै अभेद्य किल्ला निर्माण गरिसकेका थिए ।

चक्राता -देहरादुनमा भारतीय सेना र गुप्तचरहरूलाई विशेष प्रशिक्षण प्रदान गरिने केन्द्रमा माओवादीले प्रशिक्षण पाएको कुरा धेरै आधिकारिक लिखतमा आइसकेको छ ।
सेना विरूद्धको विभिन्न मोर्चामा विशेष प्रकृतिका विदेशी सेना प्रयोगमा आएकोबारे पनि नेपाली समाचार पत्रहरूले उल्लेख गरेकै थिए I भारत सरकार र भारतीय सुरक्षा एजेन्सीहरूको सहयोग र संरक्षणको प्रामाणिक जानकारी पनि भैसकेको छ ।

राजा ज्ञानेन्द्रले गराएको नगरपालिकाहरूको निर्वाचन विरूद्ध माओवादीलाई आफ्नो हतियार युक्त सेना प्रयोग गर्न स्वयम् गिरिजाप्रसादले माओवादी नेतृत्वलाई आग्रह गरेको समाचार /लेख पढिएकै हो I

अनि भारतमा भारतीय सरकार र सुरक्षा एजेन्सीहरूको सहयोग, संरक्षण र रोहवरमा दोस्रो दिल्ली सम्झौता भएर श्याम शरण -सोनिया गान्धी र सीताराम येचुरीहरूको रणनीति,कार्य योजना र विषय सूची अन्तर्गत २०६२-६ ३को जन आन्दोलन भएकै हो । उनीहरूको सहयोग र आशिर्वाद रह्यो र सफल पनि भयो ।  त्यसै अनुरूप संविधान पनि आयो ।

४. सात दशकको अवधिमा नेपालमा तीन पटक भारतको इच्छा अनुसार , उसको रणनीति अनुसार सत्ता परिवर्तन भयो ।
व्यवस्था परिवर्तन भयो I भारतले नरूचाएको सत्ता र व्यवस्था गयो, उसले रूचाएको आयो I सरकार परिवर्तनमा पनि उसको हात रहने हामी लेख्दै, पढ्दै बताउँदै आएका छौँ I भारत मात्र होइन , चीन पनि अब नेपालमा उन सरकार राख्ने र कुन हटाउने भूमिकामा पस्न थाल्यो भन्न -लेख्न थाल्यौँ हामीले ।

५. के हो सधैँ स्वतन्त्र र सार्वभौम राष्ट्र भनेको ?
यही हो ?
यस्तै राष्ट्रलाई स्वतन्त्र र सार्वभौम भनिन्छ ? हाम्रो सुरक्षा, स्थिरता र समृद्धिको सवैभन्दा ठूलो चुनौती भनेकै नेपाल स्वतन्त्र र सार्वभौम पनि रहन सकेन र प्रतक्ष कसैको उपनिवेश पनि भएन I

उपनिवेश रहेन त्यसकारण नेपालकाप्रति भारतको राजनीतिक,प्रशासनिक, नैतिक र आर्थिक दायित्व रहेन I स्वतन्त्र र सार्वभौम रहेन, त्यसकारण यसले जङ्गबहादुरको पालादेखि आजसम्म मात्रात्मक रूपमा कतै वरपर भएको होला तर नेपालले आफैँ आफ्नो निर्णय गर्न सकिरहेको छैन I पाइरहेको छैन I  त्यसैले दक्षिण एसियामा भुटान, माल्दिभ्स, बङ्गलादेश, श्रीलंका भन्दा नेपाल धेरै धेरै पछि छ ।
भुटान जति विकसित पनि छैन र मालदिभ्स जति स्वतन्त्र पनि छैन ।
यही हो नेपालको नियति ।