मित्रराष्ट्रहरूसँगको सम्बन्ध सुधार गर्ने कोशिस गरेवापत दण्डित नेपाली शासक, भारदार र नेताहरू

केशवप्रसाद भट्टराई ।

मित्रराष्ट्रहरूसँगको सम्बन्धमा विस्तार र सुधार गर्ने वा त्यस्तो कोशिस वापत दण्डित नेपाली शासक, भारदार र नेताहरू

१. काजी भीम मल्ल सन्दर्भ

काठमाडौँका राजा लक्ष्मीनरसिंह मल्लको शासनकालमा काजी भीम मल्लले काठमाडौँको सीमाना सिन्धुपाल्चोक – दोलखा हुँदै तिब्बतको कुती सम्म विस्तार गरे I
पूर्व लिम्बुवानसम्म काठमाडौँ राज्यको सीमाना पुर्याए र त्यहाँबाट पूर्वी तिब्बतसँग व्यापारगर्ने नाका चलाए I नुवाकोट, रसुवा हुँदै केरुङ्गसम्म पनि उनले काठमाडौँको राज्य पुर्याएका थिए I नेपाली व्यापारीहरूलाई तिब्बतमा ठूलो छुट र सहुलियत प्राप्त हुने सन्धि समेत गरे I
तर तिब्बतबाट फर्किएर सोझै राजासँग दर्शन भेटगरेर, तिब्बत यात्राको विवरण निवेदनगरेर,
आफ्नो सफलताको कथा राजालाई सुनाएर,
राजाको स्याबासी थापेर पछि मात्रै आफ्नो घर जाने विचारले उनी हनुमान ढोका दरवार पुगे I
तर जनतामा भीम मल्लको बढ्दो लोकप्रियता, पुरुषार्थ, कूटनीतिक कौशल र दरवारमा उनको शक्ति र प्रभावबाट जलेका उनका विरोधी भाइ भारदारले तिब्बतको समेत मद्दत लिएर भीम मल्ल राजालाई पदच्यूत गरेर आफैँ राजा हुन खोज्दैछ भन्ने झुठो खबर राजा लक्ष्मी नरसिंह मल्ल समक्ष पुर्याएका थिए I
त्यसैले भीम मल्ल राजा हटाएर आफैँ राजा हुने उद्देश्यले आफ्नो घर पनि नगई सोझै हनुमान ढोका आइरहेको भ्रममा राजाले आफ्नो कक्ष नजिकै आइपुगेका भीम मल्ललाई काट्न लगाए I

२. थुनामा नै मरे / मारिए नेपालको सीमानालाई टिष्टा र काँगडा सम्म पुर्याउने बहादुर शाह

सन् १७८५मा नेपाल राज्यको नायवी सम्हालेका बहादुर शाहले सन् १७९१ सम्ममा पर्वत, गुल्मी र अर्घा खाँचीदेखि कुमाउ -गढवालसम्म नेपाल राज्यलाई विस्तार गरेपछि तिब्बतसँगको विवाद सल्ट्याउने क्रममा नेपाल-तिब्बत युद्धमा त सानदार सफलता हाँसिल गरे I
उनको नेतृत्वमा केरुङ्, कुती र सिगात्सेसम्म नेपालको नियन्त्रण कायम भएको थियो I
१७८९मा नेपाल र तिब्बत वीच नेपालको हित र स्वार्थ अनुकूल सन्धि भैसकेको थियो तर पछि फेरी तिब्बतको पक्षमा लड्न ठूलो सैन्य बल सहित चीन आयो I
नेपाल राज्यलाई कुमाउ-गढवाल सम्म विस्तार गर्दाको लामो युद्ध,
त्यसपछि तिब्बतसँगको युद्ध अनि फेरी महाचीनसँग युद्ध गर्नु पर्दा नेपालको साधन,स्रोत र सामर्थ्य अपुग हुने नै भयो I
सेना थाकिसकेको थियो I
नेपालले चीनसँग सकेन I
युद्धमा नेपाल पराजित भयो I
१७९२मा चीन सरकारसँग अपमानजनक सन्धिमा हस्ताक्षर गर्न नेपाल वाध्य भयो I
नेपाल र तिब्बत वीच मोटामोटी आजको सीमाना कायम हुने गरी सन्धि भयो I
नेपाल र चीन वीच युद्ध जारी रहँदै अङ्ग्रेज सरकारसँग व्यापारिक सन्धि गरेर चीनसँगको युद्धकोलागि अत्यावश्यक सैन्य सामग्री समेत ल्याउने बहादुर शाहको योजना थियो I
मार्च १७९२मा नेपाल र भारत सरकार वीच एउटा सन्धि भयो I
तर ब्रिटिस भारत सरकार नेपाललाई हात हतियारको सहयोग गरेर चीनसँगको सम्वन्धमा समस्या थप्न तयार भएन I
तर नेपाल चीन युद्धको परिवेशलाई नजिकबाट बुझ्न ,
नेपालको भूगोल,इतिहास र राजनीति आदिबारे पूर्ण जानकारी बटुल्ने, व्यापारिक सम्भावनाको खोजी गर्ने उद्देस्यले कम्पनी सरकारले आफ्नो प्रतिनिधि मण्डल नेपाल पठाउन चाहेको पत्र पठायो I
नेपालले त्यसमा मन्जूरी दियो र क्याप्टेन किर्कप्याट्रिक नेतृत्वको एउटा प्रतिनिधि मण्डल नेपाल आयो I
उनै किर्कप्याट्रिकले नेपाल भ्रमणमा आफूले पाएको जानकारी समेटेको पुस्तक पनि बजारमा पाइन्छ I
रण बहादुर शाह पनि ठूला भइसकेका थिए I
पृथ्वी नारायण शाहले निर्माण गरेको नेपाललाई दुई गुणा ठूलो बनाउने कार्यको नेतृत्व गरेका र नेपाल जस्तो अवस्थाको मुलुकले संसारका दुई ठूला र शाक्तिशाली मुलुक चीन र ब्रिटिस भारतसँग समेत सन्धि गरेर नेपालको अन्तर्राष्ट्रिय परिचय निर्माण गराउन योगदान पुर्याएका बहादुर शाहको व्यक्तित्वबाट आत्तिएका उनका विरोधी र भारदारहरूको लहै लहैमा लागेर रणबहादुर शाहले १७९४ बहादुर शाहलाई मुख्तियार र नायवीबाट खोसे I
कुनै पदमा नरहे पनि बहादुर शाह जनता र फौजमा अत्यन्त लोकप्रिय थिए I
त्यो लोकप्रियताबाट डराएका रण बहादुर र उनका मतियारहरूले अव बहादुर शाहसँग नेपाल राज्यको विस्तार गर्दाको युद्ध अवधि र नेपाल-तिब्बत -चीन युद्धको खर्चको हिसाव माग गरे I
यो आफूलाई फसाउने अभिप्राय हो भन्ने बुझेका बहादुर शाहले राजा र आफ्ना वीच मध्यस्थता गरिदिन चीनका बादशाहसँग भेट्न पेकिङ्ग जाने अनुमति मिलाइदिन ल्हासा स्थित चीनिया दुतलाई पत्र लेखे I
तत्कालीन ब्रिटिस भारत सरकारमा बहादुर शाह विरोधी नेपालका पूर्व र वर्तमान भारदारहरूको वर्चस्व देखिएकाले उनले पहिला जस्तै भारत तिर जाने विचार गरेनन् I
रण बहादुर शाह र वहादुर शाहका विरोधीलाई पुगिगयो I
बहादुर शाह विरूद्ध अभियोगहरूको लामो सूची उनीहरूले ल्हासामा चीनियाँ दूतलाई पठाए र बहादुर शाहलाई थुनामा हाले र अत्यन्त सन्देहपूर्ण स्थितिमा थुनामा नै जुलाई ९, १९९७मा बहादुर शाहको निधन भयो I

३. दामोदर पाँडे , भीमसेन थापा , रणजङ्ग पाँडे, माथवर सिंह थापा आदि

बहादुर शाहको नेतृत्वमा नेपालको राज्य विस्तारका अर्का महानायक थिए दामोदर पाँडे I आफ्ना बौलठ्ठीपूर्ण कार्यहरूले सीमा नाघे पछि र नेपालमा टिक्न नसकी काशीतिर लागेका रण बहादुर र नेपाल सरकारवीचको द्वन्द्वमा कम्पनी सरकारले रूची लियो I
रण बहादुर शाहको बौलठ्ठीपनवाट मुलुकलाई जोगाउने उद्देस्यले रानी सुवर्णप्रभाको नायवी अन्तर्गत सर्वशक्तिमान बनेका काजी दामोदर पाँडेले सन् १८०१मा अंग्रेज सरकार सँग एउटा सन्धि गरे I
अक्टोबर १८०१मा अङ्ग्रेज सरकारले सन्धिलाई अनुमोदन गरिसकेको थियो तर नेपालले विधि पूर्वक अनुमोदन गर्न बाँकी नै थियो I
सन्धि अनुसार किर्कप्याट्रिक मिसनका अर्का सदस्य क्याप्टेन नक्स नेपालका लागि अङ्ग्रेज सरकारका दुत बनेर काठमाडौँ आए I
नेपालका सवै प्रमुख भाइ भारदारहरू भित्र भित्रै रण बहादुर शाह र सुवर्णप्रभा समूहमा विभाजित रहेको समयमा ब्रिटिस दुतप्रति काठमाडौँ अत्यन्त असहिष्णु र असहयोगी हुन पुगेको थियो I सन्धिका प्रवन्धहरू कार्यान्वयन गराउन सक्ने अवस्था रहेन I ऊता काशीमा निर्वाशित रहेका राजा रण बहादुर शाहलाई उक्त सन्धि आफ्नो शक्ति प्राप्त गर्ने अवशर लाग्यो I

काशीमा विभिन्न कालखण्डमा नेपालको राजकाजमा ठाउँ नपाएर वा लखेटिएर लामो समय देखि निर्वाशनमा रहेका व्यक्तिहरूको ठूलो सङ्ख्या रणबहादुर शाह मार्फत नेपाल फर्किएर आफ्नो प्रभुत्व स्थापनाको रणनीति बुन्न थाले I रण बहादुर शाहले अङ्ग्रेज शासन विरोधी उग्र प्रतिक्रिया दिन लागे I अङ्ग्रेजसँगको सन् १८०१को सन्धि राष्ट्र विरोधी गद्दारहरूको षड्यन्त्र बताउन थाले I

उनको पक्षमा काशीमा रहेका मानिसहरूको ठूलो समर्थन जुटे पछि उनी नेपाल फर्किए I नेपाल दरवारले सन्धि कार्यान्वयनमा कुनै चित्त बुझ्दो रूचि र प्रतिवद्धता प्रदर्शन नगरे पछि अङ्ग्रेज सरकारले उनलाई काशीमा रोकेर राख्ने मन गरेन I
उनी नेपाल फर्किए I
उनलाई रोक्न खटिएको सेना उनकै पक्षमा लाग्यो I
राजकाज हातमा लिए I
रानी सुवर्णप्रभालाई हेलम्बु धपाए र दामोदर पाँडेलाई काट्न लगाए I
उनै वीर दामोदर पाँडे काटिएको ठाउँमा हाल शहिद गेट छ I
भीमसेन थापा, रणजंग पाँडे, माथवर सिंह थापाहरूको पतन पछाडि पनि नेपाल र ब्रिटिस भारत सँगको सम्बन्ध नै रहेको प्रष्ट छ I

४. मोहन समशेर देखि ओलीसम्म

प्रष्टसँग नेपालको स्वतन्त्रता र प्रभुसत्तालाई मान्यता दिएको कुनै लिखित दस्तावेजमा भारतसँगको १९०५०को सन्धि पहिलो हो I तर यो सन्धिमा हस्ताक्षर गरेको आठौँ महिनामा राणा शासन समाप्त भयो I विश्वेश्वरप्रसाद कोइरालाले चीनसँग सीमा सम्झौता गरेको केही महिनामा नै उनी हटाइए, थुनिए, लखेटिए I राजा वीरेन्द्रले चीनसँग हात -हतियार खरिद गरे I

सार्वजनिक नभए पनि र अझै गोप्य नै रहे पनि कुनै सम्झौता वा लेखापढी नभई दुई मुलुकका सरकार वीच त्यस्तो खरिद भएको नहोला !
तर त्यो सम्झौता र हतियार खरिदले पंचायत व्यवस्था अर्थात राजाको नेतृत्वको शासन प्रणालीलाई अन्त्य गर्यो I
सार्कमा चीनको उपस्थितिको पक्ष पोषण गरेको र अफगानिस्तानको सदस्यताको विरोध गरेकै कारण राजा ज्ञानेन्द्र हटाइए I
चीनसँग पारवहन सन्धि गरे वापत ओलीको पहिलो सरकार ढल्यो I
भारतीय नाकाबन्दीलाई प्रष्टसँग नाकाबन्दी भन्न नसक्दा र एमसिसी सम्झौता गर्दा नेपाली काङ्ग्रेस र देउवा सरकार गएको चुनावमा सोत्तर पर्यो I
एमसिसीमा बलियो प्रतिवद्धता प्रदर्शन गरेका दिनदेखि ओली सरकार विवादै विवादमा घेरिएको छ I
अहिले उनलाई टिकाउन कुनै विदेशी शाक्ति कम्मर कसेर लागेको र अर्को त्यस्तै शक्ति हटाउन पनि त्यसरी नै लागि परेको देख्ने -बुझ्ने गरिएको छ I
उनको समर्थन र विरोध पछाडि आन्तरिक कारण भन्दा मूलतः वाह्य कारण देखिन्छन् I


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *