• पात्रो
  • मौसम booked.net

न्यूयोर्कको रोचेस्टर सहरको प्रहरी प्रमुखद्वारा राजीनामा

अमेरिकाको न्यूयोर्क प्रहरीको नेतृत्व तहमा रहेका अधिकारीहरूले राजीनामा दिएका छन् । एकजना अश्वेत मानिसको प्रहरी गिरफ्तारीका क्रममा भएको मृत्युको घटनापछि प्रदर्शनहरू चर्किरहेका बेला रोचेस्टर सहरका प्रहरी प्रमुख र सहायक प्रमुखले राजीनामाको घोषणा गरेको उक्त सहरकी मेयर लभ्ली वारेनले सहर परिषद्को बैठकलाई बताएकी हुन् ।

गत मार्च महिनामा एकजना अश्वेत व्यक्ति ड्यानियल प्रुडको प्रहरी हिरासतका क्रममा मृत्यु भएको खुलासा गत साता भएपछि रोचेस्टर सहरका प्रहरीले उक्त घटना लुकाउन खोजेको भन्दै चर्को आलोचना भएको थियो । त्यही आलोचनाका माझ राजीनामा दिएका वरिष्ठ प्रहरी अधिकारीहरूविरुद्ध अभियोग लाग्नुपर्छ कि पर्दैन भन्ने कुरा अब एउटा बृहत् जुरीले निश्चित गर्नेछ । प्रुडको पक्राउमा संलग्न सातजना प्रहरी अधिकारीहरूलाई निलम्बन गरिएको छ ।

४१ वर्षीय प्रुडलाई प्रहरीले पक्राउ गर्दा उनी चरम मानसिक स्वास्थ्य समस्यामा रहेको बताइएको छ । लुगा नलगाइ बाटोमा दौडिरहेको अवस्थामा प्रुडलाई प्रहरीले नियन्त्रणमा लिएको थियो र टाउकोदेखि घाँटीसम्म छोप्ने ’स्पीट हूड’ लगाइदिएको थियो । उक्त घटनाको भिडिओ दृष्य हालसालै मात्रै देखा परेपछि प्रदर्शनहरू चर्को रूपमा हुन थालेका छन् ।

अमेरिकाकै अर्को राज्य मिनेसोटामा प्रहरी हिरासतमै रहेका बेला जोर्ज फ्लोइडको मृत्यु भएको घटनाले देशभर जातिवादविरोधी प्रदर्शनहरू चर्काएको तीन महिनापछि फेरि प्रहरीको व्यवहारलाई लिएर प्रदर्शनहरू भइरहेका छन् ।

२४ भाद्र २०७७, बुधबार

फेसबुकबाट तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: