काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने इन्द्रजात्रा यसबर्ष कोरोना महामारीका कारण प्रभावित भएको छ । कोरोना महामारीलाई लक्षित गर्दै इन्द्रजात्रमा यसवर्ष रथ तान्न स्थगन गरेपछि क्षमा पूजा गरेर मनाईएको छ ।
कोरोनाबाट बच्न रथयात्रा स्थगन गरिएकाले इन्द्रजात्रा सम्बन्धित सबै मठमन्दिरमा क्षमापूजा गरी मनाएको इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यले जानकारी दिए । मंगलबार इन्द्रजात्राको मुख्य दिन हो । यस अवसरमा काठमाडौँ उपत्यकामा प्राचीनकालदेखि नै सार्वजनिक बिदा दिने गरिन्छ । यसदिनदेखि वसन्तपुर दरबार क्षेत्रमा कुमारी यात्रा शुरु हुने परम्परा थियो ।
यसवर्ष भने कोरोनाको महामारीका कारण यो परम्परा रोकिएको छ । भाद्र शुक्ल पूर्णिमाका दिन भदौ १७ गते कुमारीलाई माथिल्लो टोल यात्रा गराइन्छ । यसैगरी भदौ २१ गते नानीचा यात्रा गराइने विधि पूरा हुने प्राचीनकालदेखिको विधि छ । आश्विन कृष्ण चौथीका दिन इन्द्रध्वजपतन अर्थात् इन्द्रजात्राको लिङ्गो ढालिन्छ ।
तर यसबर्ष भने सबै परम्परालाई रोकिएको र अर्को बर्ष धुमधामले पर्व मनाईने समितिका अध्यक्ष शाक्यले बताए । यसअघि भाद्र शुक्ल द्वादशी अर्थात् भदौ १४ गते बिहान नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा इन्द्रध्वजोत्थान नगरिएपछि मानन्धर समूहले इन्द्रध्वजोत्थान गरिने हनुमानढोका दरबार क्षेत्रमा क्षमा पूजा गरेको थियो ।
Leave a Reply