स्वास्थ्य मापदण्ड अपनाएर पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटनमन्त्रीसँग व्यवसायीको माग

काठमाडौं । पर्यटन व्यवसायीले स्वास्थ्य मापदण्ड अपनाएर पर्यटन क्षेत्रलाई चलायमान बनाउन माग गरेका छन् । पर्यटन क्षेत्रका झण्डै दुई दर्जन छाता सङ्गठनले शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई भेटेर स्वास्थ्य तथा सुरक्षा मापदण्ड अपनाएर पर्यटन क्षेत्रलाई चलायमान बनाउन माग गरेका हुन् ।

व्यवसायीले आगामी भदौ १ गतेदेखि आन्तरिक तथा बाह्य हवाई उडान पुनः सञ्चालन गर्ने सरकारको यसअघिको निर्णयानुसार बिदामा बसेका कर्मचारीलाई कार्यालयमा बोलाएर पर्यटन उद्योग सञ्चालन गर्न तयारी रहे पनि उडान अनिश्चित बन्दा व्यवसायी थप मारमा परेका बताएका छन् । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईंले विदेशी पर्यटकलाई राज्यले अवलम्बन गरेको स्वास्थ्य तथा सुरक्षा मापदण्डको पूर्ण पालना गर्न लगाएर सेवा विस्तार गर्नुपर्ने बताए ।

व्यवसायीले पर्यटन उद्योग र उड्डयन क्षेत्र, छिमेक मुलुकलगायत अन्तर्राष्ट्रियजगत्मा क्रमशः खुल्दै गएको भएता पनि नेपालमा खुला गर्न नसक्दा विश्व पर्यटन बजारमा नेपालको पर्यटन क्षेत्रका बारेमा नकारात्मक सन्देश जाने भन्दै स्वास्थ्य मापदण्ड अपनाएर खुला गर्नु आवश्यक रहेको बताएका छन् । कोभिड अनुकूलताका कार्ययोजना बनाएर पर्यटकीय गतिविधि सञ्चालन गर्न पाउनुपर्ने व्यवसायीको माग छ । मुलुकमा पछिल्लो दुई महिनादेखि दैनिक सातदेखि १० चार्टड उडान सञ्चालन भए पनि उक्त उडानले राज्यको आर्थिक गतिविधिमा योगदान पु¥याउन नसकेको व्यवसायीको ठहर छ । भेटमा टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), होटल एसोसिएसन नेपाल (हान), नेपाल पर्वतारोहण सङ्घ (एनएमए), नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा), सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स नेपाल (सोटो), हिमालय उद्धार सङ्घ, गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ), टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टिवान), कैलाश यात्रा सङ्घ, ठमेल पर्यटन विकास परिषद्लगायत झण्डै दुई दर्जन संस्थाको सहभागिता रहेको छ ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *