इटहरी । सुनसरी जिल्लामा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले दोश्रो चरणको म्याद थप गर्दै साउन ३२ गतेसम्म सम्पूर्ण जिल्लालाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
हिजो आइतबार बसेको बैठकले साउन २६ गते राती १२ बजेदेखि लागु हुने गरी साउन ३२ गते सम्म निषेधित क्षेत्र घोषणा गरेको हो । यस अघि साउन २६ गतेसम्म पनि निषेधित क्षेत्र नै तोकिएको थियो ।
बैठकले सुनसरी जिल्लासंग जोडिएका सिमानाहरूमा थप सुरक्षा कडाइ गर्ने निर्णय गरेको छ । साथै नियमित लाग्ने हाट बजार ,औषधी पसलहरूबाहेक सबै प्रकारको व्यापार व्यवसायहरू बन्द गर्न प्रशासनले अनुरोध गरेको छ । भीडमाड नियन्त्रण नभएसम्म र मास्क लगाउन अनिवार्य नगरिएसम्म स्थिति नियन्त्रणमा ल्याउन कठिनाइ भएको बुझिएको छ ।
संक्रमणका बिरामी बढेपछि धरान घोपास्थित विपी कोइराला शिक्षण अस्पतालले एक सूचना जारी गर्दै अस्पतालको निर्धारित ७० शैयाभन्दा बढी संख्यामा विरामीलाई व्यवस्थित उपचार गर्न संभव नभएकोले कुनै पनि कोविद १९ का विरामीलाई अस्पताल ल्याउनुअघि पूर्वजानकारी गराउनु हुन अनुरोध गरेको छ । घोपा अस्पताल नेपालमै सबैभन्दा बढी कोविद १९ का संक्रामक विरामीलाई उपचार गर्ने स्वास्थ्य केन्द्र हो ।
अस्पतालमा बढी चाप पर्न थालेकाबाटै पनि कोरोना महामारी पूर्वी नेपालका जिल्लाहरुमा समुदायस्तरमा फैलेको अनुमान गरिएको छ । झापाको पछिल्लो रिपोर्ट अनुसार उक्त जिल्लाका मात्रै हालसम्म ४०० जना संक्रमणग्रस्त भएका छन् ।
धरान विराटनगर औद्योगिक करिडोरका उद्योग कलकारखानाहरूको हकमा भने सतर्कता अपनाएर काम गर्न अनुरोध गरेको छ । केन्द्र सरकारले कलकारखाना खोल्ने छुट दिएपछि संक्रमण द्रुत रुपमा समुदायस्तरमा फैलेको जानिफकारहरुको भनाई छ ।
हाल सुनसरी जिल्लामा अति आवश्यक सवारी साधनहरू एम्बुलेन्स, बारूण यन्त्र, प्रेस, दुध तथा ढुवानी तथा कूटनीतिक नम्बरप्लेटका सवारी साधन बाहेकका अन्यलाई सञ्चालनमा रोक लगाइएको छ ।
ईटहरी उपमहानगरपालिकाका कर्मचारीलाई कोरोना संक्रमण भए पनि उपमहानगरपालिका कार्यालय सिल नगरिएकोमा भने आश्चर्य मानिएको छ ।
Leave a Reply