उपत्यका प्रवेश गर्ने नाकाहरुमा कडाई गर्न नगरपालिका फोरमको आग्रह

काठमाडौं । प्रवेश नाकामा कडाइ गरेर मात्र उपत्यकालाई कोरोनाको फैलिँदो महामारीको बिपत्तिबाट जोगाउन सकिनेमा जोड दिँदै उपत्यका नगरपालिका फोरमले आन्तरिक र वाह्य छलफल बढाएको छ । आइतबार फोरमका अध्यक्ष एवं महानगरका मेयर र फोरमका सचिव एवं मध्यपुर थिमीका मेयर मदनसुन्दर श्रेष्ठले कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) का समेत संयोजक रहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग छलफल गरेको छ । रक्षा मन्त्रालय पुगेर उनीहरुले उपत्यका फैलिँदो संक्रमण व्यवस्थापनलाई गम्भीरताका साथ लिन आग्रह गरेका छन् ।

‘काठमाडौँ उपत्यका संघीय राजधानी सहर हो । बाक्लो वस्ती भएकाले यस क्षेत्रमा कोरोना संक्रमण समुदायस्तरमा छिटो पुग्ने र चाँडै फैलिने खतरा छ । फोरमका अध्यक्ष शाक्यले भने, ‘बाहिरबाट संक्रमण आउने खतरा टार्न नाकामा कडाई गर्न हामीले सिसीएमसीका संयोजक समेत रहेका उपप्रधानमन्त्रीसँग आग्रह गर्यौं । हामीले उपत्यकावासीको मागका बारेमा जानकारी गराएका छौं । उहाँले हाम्रो सुझावलाई सकारात्मक रुपमा लिनुभएको छ । आजै सिसीएमसीको बैठक बोलाएर यी सवालहरुमा गम्भीरताका साथ छलफल गर्छौ भनेर उहाँले प्रतिवद्धता जनाउनु भएको छ ।’

तेश्रो मुलुकबाट आउने ठूलो संख्याका यात्रुलाई संक्रमण पुष्टि हुन चाहिने अवधिभर राख्न क्वारेन्टायन व्यवस्थापन र सञ्चालन नियमावलीअनुसार रहने गरी एकीकृत क्वारेन्टाइन संघीय सरकारले सञ्चालन गर्ने र स्थानीय तहले व्यवस्थापनमा सहयोग गर्ने गरी तयारी गर्दा उपयुक्त हुने छलफलका क्रममा फोरमको तर्फबाट सुझाव दिइएको शाक्यले जानकारी दिए । ‘उपत्यकाभित्र समुदाय स्तरमा संक्रमण जान सक्ने खतरालाई ध्यानमा राखी सरकारको विरोध र समर्थनमा र्याली, भेला अनसन, जुलुसलगायतका गतिविधिमा कडाई गर्न पनि हामीले सुझाव दिएका छौँ । सरकारको समर्थन र विरोधका नाममा हुने जुलुस, अनसनलगायतले संक्रमणको खतरा बढी हुने भएकाले त्यस्ता कुरामा पूर्ण रोक लगाउन हामीले सुझाव दिएका छौं ।’ मेयर शाक्यले भने, ‘हामीले नागरिकसँग पनि महामारी रोक्ने काममा सघाउन आग्रह गरेका छौं । हाम्रो आग्रह मानेर स्थानीयबासी जात्रा–पर्व मनाउँदा आस्थामा आँच नआउने, विधि नबिग्रने गरी भीड नगरी सामान्य रुपमा मनाउँदै हुनुहुन्छ । उहाँहरुको सहयोगबाट हामी महामारी नियन्त्रणमा उत्साहित छौं । तर निश्चित अवधिका लागि नाका भने बन्द नै गर्नुपर्छ ।’

छलफलमा मास्कको उपयुक्त र अनिवार्य प्रयोग बढाउन पनि सुझाव दिइएको छ । फोरमका सचिव श्रेष्ठ भन्छन् — हामीले सार्वजनिक सवारी साधन सञ्चालनका लागि ३ हप्ता प्रतिक्षा गर्न र निजी सवारी साधनलाई जोरबिजोर प्रणालीमा चलाउन उपयुक्त हुने सुझाव दिएका छौं ।
श्रेष्ठले भने, ‘उपत्यकाभित्र संक्रमणको जोखिम भएका ठाउँबाट प्रवेश गरेका निर्माण क्षेत्रका मजदुर, कवाडी संकलक, ठेलागाडा, साईकल, फुटपाथका साना व्यवसाय, तरकारी व्यापारीलाई व्यवस्थित गर्नुपर्ने सुझाव दिएका छौँ । जसका लागि तरकारी व्यापारलाई साँझ,–विहान मात्र खोल्न दिने, निर्माण कार्य, फुटपाथ, ठेलागाडा, साइकलमार्फत गरिने व्यापारलाई ३ हप्ताका लागि निषेध गर्नु पर्ने हाम्रो सुझाव हो ।’

आर्थिक गतिविधिलाई चलायमान बनाउन लकडाउन खुकुलो बनाइएको अवस्थामा व्यापारिक क्षेत्र, तथा सपिङ मलहरु संक्रमणको उच्च जोखिम रहने भएकाले सो क्षेत्रमा स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न र गरे–नगरेको बुझ्न नियमित अनुगमन गर्नुपर्ने फोरमको सुझाव छ ।
अहिले सामाजिक सुरक्षा भत्ताको नविकरणका लागि जेष्ठ नागरिक बाहिर आउनु पर्ने अवस्था छ । संक्रमण फैलिरहेको अवस्थामा उहाँहरुलाई झन् बढी जोखिम हुने भएकोले नविकरणको म्याद थप गर्नु पर्ने फोरमको सुझाव छ ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *