काठमाडौं । जनस्वास्थ्य विज्ञहरुले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि मिश्रित सुझाव दिएका छन् । कोरोना संक्रमितहरुको संख्या देशभर बढ्न थालेपछि प्रधानमन्त्रीले मंगलबार विज्ञहरुलाई वालुवाटार बोलाएका थिए । छलफलमा केही विज्ञले कडा खालको लडडाउन, केहीले कफ्र्यू त केहीले लकडाउन समस्याको समाधान नभएको बताएका थिए ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार करिब साढे चार घण्टा लामो छलफलमा विज्ञहरूबाट लकडाउन कडाइ गर्ने वा २१ दिन तोकेर कर्फ्यू लगाउने वा संक्रमण बढेका स्थानमा सिल्ड गर्ने र नागरिक उत्तरदायित्व बढाउने जस्ता मिश्रित सुझावहरू प्राप्त भएका छन् । उनीहरुले अस्पतालमा पूर्वाधार बढाउन आइसीयू र भेन्टिलेटर उपलब्धता बढाउन पनि जोड दिएका छन् ।
जनस्वास्थ्यविज्ञ डा. समिरमणि दीक्षितले लकडाउन गरेर कोरोना पूर्ण रुपमा नियन्त्रणमा नआउने भएकाले बढी संक्रमण फैलिएको क्षेत्रमा कडाई गर्नुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिएको जानकारी दिएका छन् । स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाए अवस्था भयावह हुने उल्लेख गर्दै दीक्षितले सबैका सल्लाह सुझाव अनुसार प्रधानमन्त्रीले उचित निर्णय लिने विश्वास व्यक्त गरेका छन् ।
अर्का जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले समुदायस्तरमै संक्रमण फैलिने दर बढेकाले १५ दिन कडा खालको लक डाउन गर्नुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिएको जानकारी दिए । प्रधानमन्त्रीले विभिन्न खाले सुझावहरू आएकोमा सरकारले आवश्यक र जायज सुझावहरू कार्यान्वयन गरी अगाडि बढ्ने तथा सिंगो देश एकताबद्ध भएर कोरोना संक्रमणलाई पराजित गरिछाड्ने उल्लेख गरेका छन् ।
Leave a Reply